महामारीमा महँगीको बोझ, किन अचाक्ली बढ्यो खाने तेलको मूल्य?
राष्ट्र ब्यांकको तथ्यांकमा गत वर्षको तुलनामा मूल्यवृद्धि आधा घटेको देखिए पनि बजारमा भने खाने तेल लगायत दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली बढेको छ।
कोरोनाभाइरस (कोभिड–१९) संक्रमण महामारीबाट आर्थिक चापमा परेका सर्वसाधारण बजारभाउका कारण थप चेपुवामा परेका छन्। पछिल्लो समय खाने तेलसहितका उपभोग्य वस्तुमा अचाक्ली मूल्य बढ्दा उपभोक्ताको खल्तीमा चाप परेको छ।
एक वर्षको अवधिमा खाने तेलको मूल्य करीब ७० प्रतिशतसम्म बढेको छ। निषेधाज्ञा लागेको १६ वैशाखयताको मात्र कुरा गर्ने हो भने डेढ महीनामै तोरीको तेल लिटरमै ३० रुपैयाँ र सूर्यमुखी तेलको २५ रुपैयाँसम्म बढेको छ।
नेपाल खुद्रा व्यवसायी संघका अनुसार बजारमा तोरी, भटमास र सूर्यमुखी तेलको मूल्य ब्रान्ड अनुसार फरक छ। अहिले धारा तोरीको तेल प्रतिलिटर रू.३३० छ। धारा हेल्थ २९५, भटमासको २५० र सूर्यमुखी तेलको मूल्य २७५ रुपैयाँसम्म पुगेको छ। जब कि गत वर्षको जेठ–असारमा धारा तेलको मूल्य २१०, भटमासको १४० देखि १६० र सूर्यमुखीको मूल्य अधिकतम १७५ रुपैयाँसम्म थियो। राष्ट्र ब्यांकको तथ्यांकले चाहिँ गत चैतमा घ्यूतेलको मूल्य अघिल्लो वर्षको सोही अवधिका तुलनामा २१.३८ प्रतिशतले मात्र बढेको देखाएको छ।
तेलको मूल्यवृद्धिको आलोचना हुन थालेपछि नेपाल वनस्पति घ्यू–तेल उत्पादक संघले विज्ञप्ति जारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशले मूल्य बढाउन बाध्य भएको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकाले त्यसको असर आन्तरिक मूल्यमा परेको संघको भनाइ छ।
मुलुकभर २० वटा ठूला र ३० साना प्रशोधित खाने तेल उद्योगले तोरी, सोयाबिन, सनफ्लावर लगायत तेल उत्पादन गरिरहेका छन्। उत्पादित तेल स्थानीय बजारमा खपत हुनुका साथै निकासी समेत हुन्छ। तर, उत्पादनको लागि आवश्यक कच्चा पदार्थ जस्तैः क्रुड सोयाबिन, क्रुड सनफ्लावर र तोरी ९० प्रतिशत आयात हुन्छ। त्यसमध्ये अधिकांश कच्चा पदार्थ भारतका साथै ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेन लगायत देशबाट आउँछ। यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्ने हुँदा त्यस अनुसार तेलको बजारभाउ निर्धारण हुने संघले जनाएको छ।
खाने तेलमा भन्सार महशुल १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत छ। कच्चा पदार्थको मूल्य दोब्बर बढेका कारण गत वर्ष महशुल सरदर प्रतिलिटर रू.२० रहेकोमा हाल सरदर ४० पुगेको छ। यसले पनि मूल्य बढाउन सघाउ पुर्याएको संघले उल्लेख गरेको छ।
त्यस्तै, भारतीय बन्दरगाहबाट ढुवानीमा देखिएको असहजता पनि बजारभाउ प्रभावित हुनुको अर्को कारण भएको व्यवसायीहरू बताउँछन्। नेपालका लागि जहाज आउने हल्दिया बन्दरगाह रहेको पश्चिम बंगाल राज्यमा भएको दुई महीना लामो निर्वाचन र निषेधाज्ञाका कारण त्यहाँबाट नेपालको भन्सारसम्मको ढुवानी असहज र महँगो हुन गएको छ।
अधिकांश कच्चा पदार्थ भारतका साथै ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेन लगायत देशबाट आउँछ।
सहायक कच्चा पदार्थ र प्याकिङ सामग्रीमा प्रयोग हुने सामानको मूल्य समेत अन्तर्राष्ट्रिय बजारमा अत्यधिक बढेको नेपाल चामल, दाल, तेल उत्पादक संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन्। “कोरोना महामारी र निषेधाज्ञाको कारण उद्योग पनि ४० प्रतिशत क्षमतामा मात्रै चलेका छन्, यसले पनि लागत महँगो बनाएको छ,” उनी भन्छन्।
मूल्यवृद्धिकोे अर्को कारण पेट्रोलियम पदार्थको मूल्य पनि हो। इन्धनको मूल्य बढ्दा त्यसले उपभोक्ताको भान्सामा प्रत्यक्ष प्रभाव पर्छ। इन्धनको मूल्यसँगै ढुवानी भाडा बढ्दा समग्र उपभोग्य वस्तुको मूल्य आकाशिन्छ।
विश्व खाद्य तथा कृषि संगठनका अनुसार, यो वर्ष सुक्खापनका कारण अमेरिका र अर्जेन्टिनामा तुलनात्मक रूपमा कम तेलहन उत्पादन भएको छ। त्यस्तै, कोरोनाभाइरस महामारी र धेरै मुलुकमा रहेको बन्दाबन्दीका कारण आपूर्तिमा समस्या भएकाले अन्तर्राष्ट्रिय बजारमा खाने तेलको भाउ बढ्न सघाएको छ। मलेसिया, इन्डोनेसिया लगायत खाने तेल धेरै उत्पादन गर्ने देशले बढाएको निकासी करले पनि मूल्य बढाएको छ।
अन्य उपभोग्य वस्तु पनि महँगो
भान्सामा दैनिक प्रयोग हुने तेलको मात्रै होइन, मुलुकमै उत्पादन हुने दाल, चामलको मूल्य पनि चर्को गरी बढेको छ। दाल, केराउको मूल्य दोब्बर भएको छ। खुद्रा व्यवसायी संघका अनुसार, अहिले केराउको मूल्य प्रतिकिलो रू.११० छ। जब कि गत वर्ष अधिकतम रू.६० थियोे।
त्यस्तै, २० केजी चामलको बोराको मूल्य सरदर एक सय रुपैयाँ बढेको छ। जिरा मसिनो चामलको मूल्य गत वर्ष प्रतिबोरा एक हजार ५०० सम्म थियो। अहिले एक हजार ६३० सम्म पुगेको छ। जब कि राष्ट्र ब्यांकको तथ्यांक अनुसार, दाल र गेडागुडीको मूल्य गत वर्षको तुलनामा गत चैतमा ८.८४ प्रतिशत मात्रै बढेको छ।
माछा–मासुको मूल्य पनि बढेको छ। गत वर्षको जेठमा अधिकतम एक हजार २२० सय रहेको खसीको मासु अहिले प्रतिकिलो १३ सय पुगेको छ। कुखुराको मासु प्रतिकिलो रू.२२५ रहेकोमा दोब्बर बढेर रू.४४० छ। माछाको मूल्य प्रतिकिलो रू.२२० देखि २८० छ। गत वर्ष यो मूल्य १८० देखि रू.२४० सम्म थियो।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मी मातहतका निकायले दैनिक बजार अनुगमन गरिरहेको र अस्वाभाविक मूल्य लिएको पाए कारबाही गरिएको बताउँछन्। “तेलको मूल्यवृद्धिबारे संघले बोलिसकेको छ, त्यो स्वाभाविक पनि देखिन्छ,” उनी भन्छन्, “अरू उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रणमै छ।”
तरकारीको मूल्य भने स्थिर देखिन्छ। कालीमाटी तरकारी बजारमा गत वर्षको ३१ जेठमा स्थानीय सानो गोलभेँडाको सरदर मूल्य प्रतिकिलो १४, रातो आलुको ४३, सेतो आलुको २९ र स्थानीय काउलीको मूल्य प्रतिकिलो ५५ थियो। यो वर्ष सोही दिन गोलभेँडा १४, रातो आलु ४४, सेतो आलु २९ र काउलीको मूल्य ६० छ। राष्ट्र ब्यांकको तथ्यांकमा चाहिँ गत चैतसम्म सोही अवधिको तुलनामा ११.७६ प्रतिशतले घटेको छ।
बजार एकातिर, तथ्यांक अर्कोतिर
नेपाल राष्ट्र ब्यांकको तथ्यांक अनुसार, चालू आर्थिक वर्षको ९ महीनासम्म समग्र मूल्यवृद्धि ३.१० प्रतिशत छ। केन्द्रीय ब्यांककै तथ्यांकमा गत वर्ष सोही अवधिको मूल्यवृद्धि ६.७४ प्रतिशत थियो। तथ्यांक अनुसार, अहिले खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ३.४९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.७९ प्रतिशत छ। तर, उपभोक्ताको भान्सामा प्रयोग हुने कतिपय वस्तुको मूल्य दोब्बर भएको छ। यस्ता वस्तुको कम भार भएका कारण समग्र मूल्यवृद्धिमा असर न्यून छ।
राष्ट्र ब्यांकका अनुसार, मूल्यवृद्धि मापन गर्न बनाइएको खाद्य वस्तुको डालोमा तरकारीको मूल्यभार (वेटेज) ५.५ प्रतिशत छ। राष्ट्र ब्यांकले प्रत्येक १० वर्षमा पारिवारिक बजेट सर्वेक्षण गरी सोही आधारमा उपभोग्य वस्तुको ‘बास्केट’ तयार पारी मूल्य निर्धारण गर्छ। अहिले ४९६ वस्तुको मौद्रिक तौलका आधारमा मूल्य निर्धारण हुन्छ। यी वस्तुहरूमध्ये खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत १३ उपसमूह र गैरखाद्य तथा सेवा समूह अन्तर्गत ९ उपसमूह छन्। उक्त समूहहरूको भाराङ्क क्रमशः ४३.९१ र ५६.०९ प्रतिशत छ।
राष्ट्र ब्यांकले पछिल्लो पटक २०७१/७२ मा पारिवारिक बजेट सर्वेक्षण गरेको थियो। ६० बजार केन्द्रबाट यी वस्तु तथा सेवाको साप्ताहिक, मासिक र त्रैमासिक रूपमा मूल्य संकलन गरी ब्यांकले उपभोक्ता मूल्य सूचकांक तयार गर्छ। तर, राष्ट्र ब्यांकले प्रकाशन गरेको मूल्यवृद्धिको तथ्यांक र बजारभाउबीच खासै तादात्म्य पाइँदैन।
नेपाल राष्ट्र ब्यांकका प्रवक्ता देवकुमार ढकाल ब्यांकले प्रकाशन गर्ने मूल्यसूची ‘बास्केट’मा राखिएका वस्तुको मूल्य सूचकांकमा आधारित हुने भएकाले फरक पर्ने बताउँछन्। “कुनै वस्तुको मूल्य धेरै बढे पनि अर्को वस्तुको मूल्य कम हुनसक्छ,” उनी भन्छन्, “समग्रमा निकालिने हुनाले उपभोक्ताले आफूले खरीद गर्ने वस्तुको मात्र मूल्यवृद्धि भएको वा घटेको महसूस गर्छन्।” समूहगत रूपमा मापन गरिने हुनाले तरकारी खाद्यान्न जस्ता थोरै भाराङ्क भएका वस्तुले समग्र मूल्यवृद्धिमा प्रभाव नपार्ने उनको भनाइ छ।