कँडेल र थुलुङलाई वातावरण साहित्य पुरस्कार
विश्व वातावरण दिवसका अवसरमा दुई जना स्रष्टालाई पर्यावरण साहित्य पुरस्कार प्रदान गरिने भएको छ।
छैटौँ वातावरण साहित्य गोष्ठीमा काठमाडौंकी सीता भण्डारी कँडेल र संखुवासभा घर भई अहिले जापानको टोकियोमा बस्दै आएकी सयपत्री थुलुङ छनोट भएका हुन्। दुई दिने अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलनमा प्रस्तुत गरिएका ६ दर्जनभन्दा बढी कवि तथा मुक्तककारका मुक्तकमध्ये कँडेल र थुलुङका मुक्तक उत्कृष्ट चयन भएका हुन्।
विश्व नेपाली साहित्य महासंघ, दक्षिण बेलायतको संयोजनमा बेलायतमा क्रियाशील नेपाली साहित्यिक संस्थाले गोष्ठी आयोजना गरेको हो। गोष्ठीका संयोजक वातावरणविद् तथा साहित्यकार विजय हितानले छनोटमा परेका दुई स्रष्टालाई जनही रू.१० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने बताए। अर्को वर्ष वातावरण साहित्य सम्मेलन नेपालमा आयोजना गर्ने उनले जनाएका छन्। त्यही समारोहमा पुरस्कृत स्रष्टालाई पुरस्कार प्रदान गरिने भएको छ।
गोष्ठीमा भारतको असमबाट वरिष्ठ समालोचक ज्ञानबहादुर क्षेत्री र तमू साहित्य मञ्चकी अध्यक्ष गौरी तमू प्रमुख वक्ताका रूपमा सहभागी थिए। त्यस्तै, प्रा.डा. गोविन्दराज भट्टराई र प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा विजय हितानद्वारा सम्पादित ‘स्वच्छन्द सुसेलीहरू २’ र डा.देवेन सापकोटाको ‘परिश्रान्त पृथिवी’ विमोचन गरिएका छन्। यी दुवै कृति वातावरण सम्बन्धी कविताका सङ्ग्रह हुन्।