कृष्ण थापाको कारबाही रोक्ने आदेशविरुद्धको निवेदनमा सुनुवाइ हुँदै
गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका पूर्वसांसद कृष्ण थापाको कारबाही रोक्ने अन्तरिम आदेशविरुद्धको निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ।
गत वैशाखमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) अविश्वास प्रस्ताव दर्ता गरेका थिए। त्यसको राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरेको थियो।
तर, पार्टीको निर्देशन विपरीत थापाले गुरुङलाई सहयोग गरेका थिए। पार्टीका निर्देशन नमानेको भन्दै जनमोर्चाले कारबाही गरेको थियो। प्रदेश सभाले पनि उनी पदमुक्त भएको घोषणा गरेको थियो।
त्यसका विरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए। अदालतले अन्तरिम आदेश मार्फत उनको सांसद पद थमौती गरेको थियो।
त्यो आदेशविरुद्ध जनमोर्चाले निवेदन (भ्योकट) दिएको छ। जनमोर्चाको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको छ।