३८ अंकले बढ्यो नेप्से, १९ अर्ब ५५ करोडको कारोबार
साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ३८.३२ अंकले बढेको छ। बढेको बजार २९८३.११ बिन्दुमा पुगेको छ।
आज २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार कित्ता शेयर खरीदबिक्री हुँदा १९ अर्ब ५५ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो रकम नेप्सेमा एकैदिन कारोबार भएको हालसम्मकै उच्च हो।
आज कारोबारमा १२७ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ।
आइतबार ब्यांकिङ, विकास ब्यांक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र उत्पादन समूहमा लगानीकर्ताको उत्साह देखिएको छ।
आइतबार श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स, कर्णाली विकास ब्यांक र सिन्धु विकास ब्यांकको शेयर मूल्य १० प्रतिशतले बढेको छ।