‘२१औं शताब्दीका अरनिको’
२२ जेठमा कोभिड–१९ संक्रमणका कारण प्रसिद्ध परम्परागत धातु मूर्तिकार राजकुमार शाक्यको असामयिक निधन भयाे। मूर्तिकला विधाको विकास र विस्तारमा धेरै योगदान पुर्याएका शाक्यबारे उनका विद्यार्थी समेत रहेका पौभा चित्रकार उजय बज्राचार्य को शब्दश्रद्धा:
राजकुमार शाक्यलाई चिने पनि, नचिने पनि उहाँले बनाएका मूर्तिहरू जो–कसैले पक्कै देखेको छ। उहाँ प्रायः विशाल आकारका मूर्ति, मन्दिर, चैत्य, माने आदि बनाउनुहुन्थ्यो। पोखराको शान्ति स्तूपको गजुर उहाँले नै बनाउनुभएको हो। लुम्बिनीको ५० फीट अग्लो सिद्धार्थ गौतमको मूर्ति पनि उहाँकै कलाकृति हो।
सन् २००० मा जर्मनीमा आयोजित ह्यानोभर वर्ल्ड एक्स्पोमा उहाँले स्वयम्भू र पशुपतिनाथलाई एकै शरीरमा जोडेर असाध्यै आकर्षक प्रतिमा निर्माण गर्नुभएको थियो। ध्वजा र पताका टाँगिएको ७६ फीट अग्लो त्यो आकृतिका कारण नेपाल पभिलियन विशेष देखिएको थियो।
उहाँले बनाएका साना १०/१५ फीटका मूर्ति त अनगिन्ती छन्। विशेषगरी बौद्ध देवी–देउताका मूर्ति, मुकुन्डो, तोरण आदि बनाउनुहुन्थ्यो। पछिल्लो समय उहाँ ७५ फीटको भैरवनाथको मुखौटो बनाउन तल्लीन हुनुहुन्थ्यो। यसबाट विश्व कीर्तिमानमा नाम लेखाउनका लागि पहल गर्ने उहाँको सोच थियो। अब उहाँका छोरा स्वरूप र सौरभले मुखौटो निर्माणको काम पूरा गर्नेछन्। र, त्यसलाई ललितपुरको नेपाल आर्ट भिलेजमा स्थापना गर्ने उहाँको योजना थियो।
उहाँले पूर्वी भुटानको तकिला भन्ने ठाउँमा बनाएको गुरु पद्मसम्भवको विशाल मूर्ति निकै चर्चित छ। सोही मूर्तिका कारण त्यो ठाउँ अहिले प्रख्यात बनेको छ। तामाको पाताबाट निर्मित त्यो मूर्ति ११५ फीट अग्लो छ, जमीनदेखि नै नाप्दा १५५ फीट अग्लो छ। मूर्ति निर्माणका बेला कालिगडहरूले सम्पूर्ण काम हातैले गरेको देखेपछि भुटानका तत्कालीन प्रधानमन्त्री जिग्मे वाई. थिन्लेले यसलाई विश्वकै एउटा नमूना हुने भन्दै राजकुमार दाइको काँधमा थपथपाउनुभएको थियो।
राजकुमार दाइलाई २१औं शताब्दीको अरनिको भन्ने गरिएको छ। उहाँले चीन, भुटान, भारत, जापान, जर्मनी लगायत विश्वका विभिन्न ठाउँमा नेपाली कलाकृति पुर्याउनुभएको छ। उहाँका कृति विभिन्न देशमा सङ्गृहीत छन्।
नेपालको परम्परागत धातु मूर्तिकलामा उहाँको योगदान र उहाँका काम मान्छेहरूलाई थाहा भएकै कुरा हो। तर, कला क्षेत्रमा उहाँले अन्य किसिमले पनि योगदान पुर्याउनुभएको छ, त्यसबारे चाहिँ खासै कुरा बाहिर आएको छैन।
पहिलो कुरा, उहाँले ललितपुरको पाटनमा विशाल मण्डल बनाउने चलन बसाल्नुभएको थियो। पछिल्लो समय हरेक तिहारमा पाटनका टोल–टोलमा ठूला–ठूला मण्डल बनाउने गरिएको छ। करीब २५ वर्षअघि उहाँले महाबौद्ध मन्दिरमा पहिलो पटक त्यसरी ठूलो आकारको मण्डल बनाउनुभएको थियो, त्यसपछि सबैले आ–आफ्ना टोलमा ठूलो मण्डल बनाउन थाले। त्यसअघि ठूलो मण्डल बनाउने चलन यहाँ थिएन।
अर्को महत्त्वपूर्ण कुरा, उहाँले २०/२५ वर्षअघि नै विद्यार्थी भेला पारेर मूर्तिकला र चित्रकला सम्बन्धी प्रशिक्षण दिने काम शुरू गर्नुभएको थियो। म स्वयं उहाँको विद्यार्थी हुँ। परम्परागत कला क्षेत्रका आर्टिस्टले पहिले–पहिले आफ्नो सीप अरूलाई सिकाउन रुचाउँदैनथे। सिकायो भने आर्टिस्टको संख्या बढ्छ, आफ्ना ग्राहक अरूले तान्छन्, काम घट्छ भन्ने मानसिकता थियो। तर, राजकुमार दाइले त्यसरी सोच्नुभएन। कलालाई संकुचित बनाएर आफूमा मात्र सीमित राख्नु हुँदैन भन्ने उहाँको धारणा थियो।
अक्षेश्वर बौद्ध महाविहार संघबाट उहाँले प्रदान गर्ने तालिमको म पहिलो ब्याचको विद्यार्थी हुँ। हाम्रो ब्याचमा ८०/९० प्रशिक्षार्थी थिए। हामीले दुई वर्ष तालिम लिएका थियौं। उहाँले हजारौं विद्यार्थीलाई प्रशिक्षण दिनुभएको छ। तालिम लिनेमध्ये अहिले धेरै जना आफैं गुरु बनिसकेका छन्। गुरु भए पनि पारिवारिक नाता भएकाले म उहाँलाई दाइ भन्थेँ ।
परम्परागत मूर्तिकला विधाका जोकोही आर्टिस्टलाई सोध्नुहोस्, जसले पनि उहाँबाट केही न केही सिकेको बताइहाल्छन्। हाम्रो कलाकारिता बौद्ध धर्मसँग जोडिएको हुनाले उहाँले बुद्ध ज्ञानलाई पनि कलामा सम्मिश्रण गरेर विद्यार्थीलाई सिकाउनुहुन्थ्यो।
उहाँ सानैदेखि निकै मिहिनेती मान्छे हुनुहुन्थ्यो रे। परिवारको आर्थिक स्थिति कमजोर हुँदा बाल्यकालमा भोगेका अप्ठ्याराबारे कहिलेकाहीँ हामीलाई सुनाउनुहुन्थ्यो। सानो उमेरदेखि नै काम गर्न थाल्नुभएको थियो रे। तिनै भोगाइले गर्दा होला, उहाँ आफू पनि मिहिनेत गर्ने र अरूलाई पनि परिश्रमी बन्न प्रोत्साहन गर्नुहुन्थ्यो। हामीलाई प्रशिक्षण दिने बेला जर्मनीमा हुन लागेको वर्ल्ड एक्स्पोका लागि उहाँ दिनरात तयारी गर्दै हुनुहुन्थ्यो। उहाँको लगनशीलताबारे हामीले त्यतिबेलै थाहा पाएका थियौं। उहाँले नेपालको धातु मूर्तिकलालाई अन्तर्राष्ट्रिय तहमा पुर्याउनुभयो।
उहाँ धातुकलाको थोज्या माज्या प्रविधिमा पोख्त हुनुहुन्थ्यो। यसबारे थोरै अर्थ्याउनुपर्ला। थोज्या भनेको धातुको समतल पातालाई अगाडि–पछाडिबाट ठोकेर मिहिन आकार दिने काम हो भने माज्या भनेको सम्पूर्ण संरचनालाई नै आकार दिनु हो। जस्तै– ढोकाको पूर्ण आकार निकाल्नुलाई माज्या भनिन्छ। यी काममा उहाँ निपुण हुनुहुन्थ्यो।
राष्ट्रियस्तरको प्रबल गोरखा दक्षिणबाहुसहित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को ‘धातु प्रविधि सम्मान पुरस्कार’ गरी उहाँले थुप्रै सम्मानहरू पाउनुभएको थियो। तर, उहाँका योगदानबारे पर्याप्त चर्चा नभएका हुन् कि भन्ने लाग्छ मलाई। उहाँले भन्ने गरेका केही कुरा म सम्झिन्छु। उहाँ भन्नुहुन्थ्यो, “सकेसम्म लिडर बन्नु, लिडर बन्ने क्षमता छैन भने कमसेकम लिडरको पछि लाग्नु।”
पौभा, मूर्तिकला जस्ता परम्परागत विधालाई आधुनिक प्रविधिको प्रयोग गरेर विस्तार र सरल बनाउनुपर्छ भन्ने उहाँको मान्यता थियो। “हामीे परम्परागत कला विधामा छौं र सधैं परम्परागत शैलीले काम गर्दै आएका छौं,” उहाँको भनाइ थियो, “तर, अब हामीले आधुनिक प्रविधिको प्रयोग गरेर यसलाई अगाडि बढाउनुपर्छ।” उहाँका यी भनाइ मेरो मनमा गढेका छन्।
यो क्षेत्रमा टिकिरहन मिहिनेत मात्रैले पुग्दैन। निरन्तरको ऊर्जा, धैर्य र व्यवस्थापकीय क्षमता उत्तिकै चाहिन्छ। यी सबै गुण उहाँमा थिए। कुशलतापूर्वक कार्य विभाजन गरी आफ्ना कालिगडहरूलाई कामको जिम्मा दिनुहुन्थ्यो।
उहाँ गीत गाउन निकै मन पराउनुहुन्थ्यो, शोखीन गायक भनौं। पारिवारिक जमघट हुँदा गीत गाउन तम्सिहाल्ने र प्रायः हिन्दी गीत गाउनुहुन्थ्यो। सबैसँग मिलनसार, मिजासिलो, मीठो बोल्ने, सहयोगी स्वभावको हुनुहुन्थ्यो।
उहाँका श्रीमती, दुई छोरा र बुहारीहरू छन्। दुवै छोरा आर्टिस्ट हुन्। बाजे–बराजु सबै मूर्तिकलामै हुनुहुन्थ्यो, यो उहाँहरूको पारिवारिक पेशा हो। उहाँ ‘अन मेटल आर्टस् एन्ड क्राफ्टस्’ का प्रोप्राइटर हुनुहुन्थ्यो।
कोभिडका कारण राजकुमार दाइको निधन हुनुभन्दा दुई–तीन साताअघि उहाँको बुवाको पनि कोरोनाकै कारण निधन भएको थियो। उहाँहरू पाटनको थैनामा बस्नुहुन्थ्यो। पछिल्लो पटक १३ बैसाखतिर भेट हुँदा उहाँ ठीकठाक हुनुहुन्थ्यो। त्यसको एक सातापछि अस्पताल भर्ना गर्नुपर्यो।
उहाँ अध्यक्ष रहनुभएको नेपाल आर्ट भिलेजको निर्माण प्रक्रिया सकिएकै छैन। यो एउटा मेगा प्रोजेक्ट हो। कला प्रदर्शनी, कार्यशाला, गोष्ठी आयोजना आदिका लागि यसलाई सुन्दर थलो बनाउने उहाँको योजना थियो । उहाँ सुमेरु आर्ट भिलेज र महाबौद्ध मन्दिर संरक्षण समितिको पनि अध्यक्ष हुनुहुन्थ्यो।
कलालाई अगाडि बढाउने सन्दर्भमा उहाँका थुप्रै योजना थिए। एकदम दूरदर्शी। अब उहाँका योजना पूरा गर्दै नयाँ पिँढीलाई सीप हस्तान्तरण गर्ने अभिभारा हामी विद्यार्थीमा आइपुगेको छ। उहाँले जत्तिको गर्न नसकिएला, तर उहाँले सिकाउनुभएका कुरा बचाउन सक्दो प्रयास गर्नेछौं।
(कुराकानीमा आधारित)