गण्डकीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले आइतबार राजीनामा दिएका छन्।
उनले आइतबार बिहान प्रदेश प्रमुख सीताकुमारी पौडेललाई राजीनामा बुझाएका हुन्। आजैदेखि लागू हुने गरी राजीनामा बुझाएको उनले बताएका छन्।
गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि उनले राजीनामा दिएका हुन्। शनिबार नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका हुन्।
निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २१ फागुन, २०७४ मा घिमिरेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए।
राजीनामापत्रमा घिमिरेले लेखेका छन्, “मैले मुख्य न्यायाधिवक्ताको पदमा रही सेवा गरेको तीन वर्ष तीन महीनाको अवधिमा आफ्नो ज्ञान, बुद्धि, सीप र क्षमताले भ्याएसम्म संघीयताको कार्यान्वयन, प्रदेशको हकअधिकारको रक्षा, प्रदेशमा कानूनहरू निर्माणमा सहजीकरण, स्थानीय तहमा कानून तर्जुमा सहजीकरण समितिमा समेत रही संवैधानिक र कानूनी कर्तव्य पाना गर्न इमानदार प्रयास गरेकोमा मलाई सन्तोष लागेको छ। तर, मेरो कार्यसम्पादनमा कुनै कमी, कमजोरी र त्रुटि रहन गएको भएमा म समस्त प्रदेशवासी दिदीबहिनीहरूसँग खुला हृदयले क्षमा याचना गर्दछु।”