गण्डकीका मुख्यमन्त्रीसँगै चार मन्त्रीले लिए शपथ
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगै चार मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
शनिबार राति आयोजित एक समारोहमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नेपालीलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। मुख्यमन्त्रीसँगै नवनियुक्त चार जना मन्त्रीले पनि पथ तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री नेपालीले शपथ लिए लगत्तै चार मन्त्री नियुक्त गरेका हुन्। उनले कांग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र) की मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा) का हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री नियुक्त गरेका हुन्। चारै जनाको मन्त्रालय तोकिएको छैन।
प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। मुख्यमन्त्रीका लागि नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए।