को हुन् गण्डकीका नवनियुक्त मुख्यमन्त्री नेपाली?
प्रदेश प्रमुख सीताकुमारी पौडेलले कृष्णचन्द्र नेपाली पोखरेललाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेकी छन्।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) सहित ३१ सांसदको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन्।
उनी संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका छन्। यसरी बनेका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्छ।
पूर्वि नवलपरासीको गैडाकोट नगरपालिका-१ मा स्थायी घर भएका उनी २०७४ सालको निर्वाचनमा नवलपुर (पूर्वी नवलपरासी) १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका हुन्।
१३ मंसिर २००६ सालमा तनहुँमा जन्मेका पाेखरेल २०२८ सालमा कांग्रेस तनहुँ जिल्ला कार्यसमितिको सदस्य बनेका थिए।
मानविकी र कानूनमा स्नातक गरेका उनी २०४८ सालमा नवलपरासी-४ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए। दुई दशक नेपाली कांग्रेस नवलपरासी जिल्ला सभापति बनेका पाेखरेल कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हुन्।