कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री नियुक्त
नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रकाश अर्यालले बताए। प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता नेपालीलाई प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी (जसपा) र स्वत्रन्त्र सांसदको समर्थन रहेको छ। उनले शुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी गरेका थिए। उनलाई कांग्रेसका १५, माओवादीका ११, जसपाका दुई, जनमोर्चाका दुई र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका हुन्।
२७ जेठमा पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। गुरुङ २०७४ मा माओवादी र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
सर्वोच्च अदालतको आदेशमा नेकपा विभाजन भएपछि माओवादी समर्थन फिर्ता लिएको थियो। त्यस्तै, सरकारले जनादेश अनुसार काम गर्न नसकेको भन्दै जनमोर्चाले पनि समर्थन फिर्ता लिएको थियो। दुवै पार्टीले समर्थन फिर्ता लिएपछि गुरुङको सरकार ढलेको हो।
देश संघीयतामा गएपछि २०७४ मा सातै प्रदेशमा सरकार गठन भएका थिए। अन्य प्रदेशमा मुख्यमन्त्री यथावत रहे पनि गण्डकी प्रदेशमा भने नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।