यसरी पछ्याएँ बाघ र हात्ती!
बर्दियाको खाता जैविकमार्ग भएर हात्ती नेपाल-भारत ओहोरदोहोर गर्छन् भने गाउँ नजिकैको सामुदायिक वनमा निर्माण गरिएको पोखरीमा पानी पिउन बाघ आउने गरेका छन्।
मध्य जेठ, तराईमा असाध्यै गर्मी हुन्छ। बर्दियामा पनि गर्मी उस्तै त हो। तैपनि घरमै बसिराख्न मनले मान्दैन।
कोभिड–१९ कारण निषेधाज्ञा हुँदैन्थ्यो भने यतिबेला आन्तरिक तथा बाह्य पर्यटक डुलाइरहेको हुन्थे। तर, यो वर्ष कोरोना र निषेधाज्ञाले गर्दा पर्यटक आएका छैनन्। होमस्टे पनि बन्द छन्। खाता जैविकमार्ग होमस्टे पनि यसको मारमा परेकै छ।
जंगलतिर जाने, वन्यजन्तुसँग रमाउने धेरै वर्षदेखिको बानी हो। स्कूल पढ्दादेखि नै संरक्षणमा सक्रिय भएकाले वन्यजन्तुसँग रमाउँछु। झन् अहिले खाता जैविकमार्ग होमस्टे व्यवस्थापन समितिको सचिव भएकाले आगन्तुकलाई जंगल सफारीमा लग्ने, वन्यजन्तु देखाउने त कामै भइहाल्यो।
२७ जेठमा नियमित दिनचर्याजस्तै जंगलतिर जाँदै थिए। गाउँबाट करिब ५०० मिटर टाढा हो, हात्तीको बथान देखियो। ३५-४० जति हात्ती थिए। स-साना बच्चादेखि वयस्कसम्म थिए।
यति ठूलो संख्यामा गाउँ नजिकै हात्ती आएको प्रायः देख्न पाइँदैन। अहिलेसम्म यसरी आएका थिएनन्। यो पटक ठूलो संख्यामा आए। भारतको ‘कतरनियाँघाट वाइल्डलाइफ सेन्चुरी’बाट नेपाल फर्केका हुन्।
प्रायः असोज-कात्तिकतिर हात्तीको बथान बर्दिया राष्ट्रिय निकुञ्जबाट मधुवन नगरपालिका–१ स्थित शिव सामुदायिक वन हुँदै भारतको कतरनियाँघाटतिर लाग्छन्। जसै मनसुन नेपाल प्रवेश गर्छ, हात्ती पनि फर्किन्छन्।
यस पटक हात्ती हाम्रो गाउँघरकै बाटो भएर फर्किए। यति ठूलो समूहमा देख्दा एकदम खुशी लाग्यो। केहीबेर फोटो खिचेँ, भिडियो खिचेँ। गाउँघरकै बाटो हात्तीको बथानलाई पछ्याएँ। उनीहरूलाई गाउँघरकै बाटैबाटो पछ्याउँदा कत्ति पनि डर लागेन, बरु खुशी लाग्यो। मन प्रफुल्लित भयो।
हात्तीको बथान अरुलाई पनि देखाउन पाए हुन्थ्यो भन्ने लाग्यो। फोटो र भिडियो धेरै साथीलाई ट्याग गर्दै फेसबुकमा शेयर गरेँ।
हात्तीको समूह बाटो बिर्सेर गाउँघरतिर पसेको होइन। यो त संरक्षणमा संलग्न हजारौं मानिसको योगदानले सम्भव भएको हो। स्थानीय बासिन्दा, संरक्षणकर्मी, सरकारी तथा गैरसरकारी निकाय, अन्तर्राष्ट्रिय दातृ संस्था सबैको साझा प्रयासले खाता जैविकमार्गले पुनर्जीवन पाएपछि वन्यजन्तु गाउँघर नजिकै देखिन थालेका हुन्।
तस्वीर र भिडियोमा पनि देख्न सकिन्छ, घरपालुवा जनावर चरिरहेको घाँसे मैदान भएरै हात्तीको बथान जंगलतिर लागेको छ। उनीहरू चर्दै आफ्नो बाटो लागे। उनीहरूका लागि आहारको अभाव हुन्थ्यो भने पो खेतबारीतिर पसेर क्षति पुर्याउँथे होलान्।
नेपाल फर्केको हात्तीको ठूलो बथानलाई पो यो साता पछ्याएको हुँ, अलिअलि त सधैं देखिने गरेका छन्। गाउँ नजिकैको शिव सामुदायिक वनमा सधैं हेर्न सकिन्छ।
हात्ती मात्रै होइन, बाघलाई पनि गाउँघरको बाटोमा पछ्याएको छु। यहि १५ जेठको मध्याह्न हो। गाउँभन्दा चार–पाँच सय मिटरको दूरीमा बाघ भेट्टाए। यसअघि पनि बाघ त देखेको थिए, तर यस पटक भने बाघलाई पछ्याएँ। केहीबेर उसको पछिपछि हिडेँ।
डल्ला होमस्टे गाउँदेखि ५०० मिटरको दूरीमा शिव सामुदायिक वनमा २०६७ सालमा पानी पोखरी बनाएका थियौं। विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालको सहयोगमा पानी पोखरी बनेको थियो।
गर्मी शुरू भएसँगै जंगलमा पानीका स्रोत सुक्न थालेका छन्। वन्यजन्तुलाई पानी पिउन समस्या हुन्छ। जसले गर्दा गाउँघर नजिकका खोलानालामा आउँछन्। त्यो बेला मान्छेसँग जम्काभेट भयो भने आक्रमण पनि गर्छन्। त्यस्तो नहोस र जंगलमै सहज रुपमा वन्यजन्तुले पानी पिउन पाउन भनेर पोखरी बनाएका थियौं।
त्यहीँ पोखरीमा पानी पिउन १५ जेठ मध्याह्नतिर बाघ आयो। बाघलाई त हामीले जंगलबाट बोलाएजस्तै भयो। त्यो देख्दा यति खुशी भएँ की वर्णन गर्नै सक्दिँन। यसअघि यति नजिकबाट बाघ देखेको थिइनँ।
लखरलखर आएर पोखरीमा पानी पियो। यताउता हेर्याे। फेरि पानी पियो। मैले केही फोटो र भिडियो खिचेँ। अर्को साथीलाई देखाउन बोलाएको थिए, त्यतिबेला हिँडिहाल्यो। केहीबेर बाघलाई पछ्याएँ। बाघको पछिपछि केहीबेर हिँड्दा पनि रोमाञ्चित भएँ। साह्रै आनन्द लाग्यो।
स्थानीय बासिन्दा र संरक्षणकर्मीको धेरै समयको मिहिनेतले हामी गाउँघर नजिकै, गाउँघरकै बाटोमा बाघ, हात्ती लगायतका वन्यजन्तु पछ्याउन सक्ने अवस्थामा पुगेका हौं। अब होमस्टेमा आउने पाहुनलाई पनि खाता जैविकमार्गमा मज्जाले वन्यजन्तु देखाउन सक्नेछौं। बर्दियाजस्तै देशका अन्य ठाउँमा पनि वन्यजन्तु गाउँघर नजिकै पछ्याउन सकिने छ, त्यसका लागि हामीले जस्तै संरक्षण भने गर्नैपर्छ।
(बर्दियाको खाता जैविकमार्ग होमस्टे व्यवस्थापन समितिका सचिव चौधरीसँग गरिएको कुराकानीमा आधारित।)