साहित्यमा प्यालेस्टाइन-पीडा : 'उनीहरू मूलपाठ, हामी फूटनोट'
बर्घौटी सधैं लखेटिएझैं बाँचे। तर, थातथलो निरन्तर बदलिरहँदा पनि लेखिरहे, लेखिरहे। उनका लागि लेख्नु फगत बौद्धिक विलास थिएन, बरु अस्तित्वको लडाइँ थियो। निरन्तर निर्वासनमा लेख्न सजिलो थिएन, तर उनले प्यालेस्टाइन पहिचानको रक्षार्थ कलम धसिरहे।
उनीहरू मूलपाठ भए, हामीलाई फूटनोट बनाइयो
– तमिम बर्घौटी (इन् जेरुसेलम)
उनीहरू अर्थात् इजरायली जो दोस्रो विश्वयुद्धपछि नाजी प्रताडनाको शिकार भए अनि सन् १९४८ मा प्यालेस्टाइन भूमिमा बसाइए। कालान्तरमा उनै प्यालेस्टिनीलाई शरणार्थी बन्न बाध्य पारे। यसरी ‘फूटनोट’मा सीमित हुनपुगे प्यालेस्टिनीहरू।
आम नागरिक जस्तै प्यालेस्टिनी लेखकहरूको साझा भोगाइ हो– विस्थापनको पीडा। दार्शनिक एडवार्ड सइद र कवि महमौद दार्विस मात्र होइनन्, प्यालेस्टाइनमा जन्मेर पनि आफ्नो भूमिबाट सधैं टाढै रहने स्रष्टामा मुरिद बर्घौटी पनि पर्छन्। आम प्यालेस्टिनी जस्तै बर्घौटीको पनि जीवन निर्वासनमै बित्यो। जन्मभूमिबाट टाढिँदाको सघन पीडा उनले यसरी पोखेका छन्, “निर्वासन नै मेरो दोस्रो घर हो। त्यो पनि एकै ठाउँमा कहाँ हो र? कहिले रमल्लाह, कहिले कायरो, कहिले बुडापेस्ट, कहिले बेरुत, त कहिले अम्मान।”
प्यालेस्टाइन भूमिमा इजरायलीलाई बसाउने कार्यको अरब देशहरूले एकसाथ प्रतिवाद गरे। यसको अगुवाइ इजिप्टले गर्याे, तत्कालीन इजिप्टका राष्ट्रपति गामेल अब्देल नासेरको अगुवाइमा। अरबवादको उभार थियो त्यतिखेर।
सन् १९६७ को अरब–इजरायल युद्ध यस्तो बीभत्स घटना थियो, जसले धेरै प्यालेस्टिनीलाई आजीवन देशविहीन गरायो। बर्घौटीको जीवनमा पनि उथलपुथल ल्यायो। इजिप्टमा विश्वविद्यालयस्तरको पढाइ सकेर आफ्नो घर प्यालेस्टाइन फर्कने क्रममा थिए उनी। तर, उनलाई रमल्लाह फर्कन निषेध गरियो। उनी शरणार्थीका रूपमा इजिप्टमै रहन बाध्य भए। सहपाठी उपन्यासकार राध्वा आसौरसँग घरजम गरे, तर छोटो समयमै साथ टुट्यो।
सन् १९६७ को इजरायल–अरब युद्धपछि मध्य–पूर्वको अरब समीकरण बदलियो। नासेरको निधनसँगै अरबवादको ओज कम हुँदै गयो, अमेरिकी षड्यन्त्रको परिणाम देखिन थाल्यो। लामो अरब–इजरायल युद्ध स्थगन भयो, इजिप्टका तत्कालीन राष्ट्रपति अनवर सदातलाई साथ लिएर तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको पहलमा इजरायल–इजिप्टबीच क्याम्प डेभिड सम्झौता सम्पन्न भयो।
बिस्तारै छिमेकी जोर्डनले समेत इजरायलको वैधता स्वीकार गर्याे। अरब एकता भाँडिएपछि त प्यालेस्टाइन क्षेत्रमा इजरायली अतिक्रमण अझ तीव्र बन्दै गयो। इजरायली बस्तीको विकास आकाशियो। प्यालेस्टाइन भूमिमै प्रवेशका लागि पनि इजरायली अनुमति अनिवार्य हुन थाल्यो।
प्यालेस्टिनीको बबार्दीको श्रृंखला चलिरह्यो, अधिकांश अरब जगत् मूकदर्शक बस्न थाल्यो। वेस्ट ब्याङ्क र गाजा क्षेत्रमा खुम्चियो प्यालेस्टाइन, त्यो पनि इजरायली निगरानी र नियन्त्रणमै– चरणबद्ध, झन्झटिलो र अपमानजनक पाराले।
सन् १९६७ को अरब–इजरायल युद्ध यस्तो बीभत्स घटना थियो, जसले धेरै प्यालेस्टिनीलाई आजीवन देशविहीन गरायो। बर्घौटीको जीवनमा पनि उथलपुथल ल्यायो। इजिप्टमा विश्वविद्यालयस्तरको पढाइ पूरा गरेर आफ्नो घर प्यालेस्टाइन फर्कने क्रममा थिए उनी। तर, उनलाई रमल्लाह फर्कन निषेध गरियो। उनी शरणार्थीका रूपमा इजिप्टमै रहन बाध्य भए। सहपाठी उपन्यासकार राध्वा आसौरसँग घरजम गरे, तर छोटो समयमै साथ टुट्यो।
इजिप्ट सरकारको इजरायलमैत्री नीतिको आलोचना गरे बापत सन् १९७७ मा उनी इजिप्टबाट निकालिए। पाँच महीनाको छोरा र श्रीमतीलाई छोडेर उनी फेरि शरणागत बने, हंगेरीमा।
मनको विरह बिसाउँछन् उनी, “इजिप्ट सरकारले मलाई मात्र निष्कासन गरेको कहाँ हो र? मेरो पारिवारिक सम्बन्ध, बाँच्ने पद्धति अनि मेरो विवाहलाई समेत निर्वासित गरायो। मेरी श्रीमती राध्वा र नवजात छोरा तमिमलाई पनि मबाट अलग गरायो।”
बर्घौटी सधैं लखेटिएझैं बाँचे। तर, थातथलो निरन्तर बदलिरहँदा पनि लेखिरहे, लेखिरहे। उनका लागि लेख्नु फगत बौद्धिक विलास थिएन, बरु अस्तित्वको लडाइँ थियो। निरन्तर निर्वासनमा लेख्न सजिलो थिएन, तर पनि उनले प्यालेस्टाइन पहिचानको रक्षार्थ कलम धसिरहे।
लामो निर्वासनकालमा रहँदा बर्घौटीले जन्मस्थान प्रवेशका लागि कैयौं प्रयास गरे। तर, उनलाई रमल्लाहस्थित आफ्नो घर फर्कन ३० वर्ष कुर्नुपर्याे।
जोर्डन नदीको सीमाबाट इजरायली सेनाको केरकार र अपमान झेलेर जन्मभूमि टेक्दाको अनुभूति उनले आफ्नो आत्मकथा ‘आइ श रमल्लाह’ मा लेखेका छन्। जहाँ उनी तीन दशकपछि बर्घौटी जैतुनका बोट र साइप्रस रूखसँग पुनः साक्षात्कार हुन्छन्। प्यालेस्टाइन भूमिमा ‘मुसाखान’ खाँदाको खुशीले द्रवीभूत हुन्छन्, प्यालेस्टाइन पहिचानमा गौरवबोध गर्छन्।
इजिप्टकी लेखक आदाफ सुइफको अनुवादपछि ‘आइ श रमल्लाह’ मा बुनिएका संस्मरणका जटिल पाटाहरू बाहिरी जगत्ले बुझ्न पायो। दार्शनिक एडवर्ड सइदले भूमिकामा ‘पुस्तक प्यालेस्टाइन विस्थापनको उत्कृष्ट दस्तावेज’ मानेका छन्।
बर्घौटीले आफ्नो दोस्रो संस्मरणात्मक पुस्तक ‘आई वाज बाेर्न देयर, आई वाज बाेर्न हेयर’ मा छोरा तमिमलाई आफ्नो जन्मघर देखाउन ल्याउँदाका अनुभव समेटेका छन्। “कतिपय जन्मभूमि अचम्मका हुन्छन् जहाँ छिर्न मात्र होइन, निस्कन पनि अप्ठेरो छ, अनि त्यहाँ रहँदा पनि उत्तिकै सास्ती झेल्नुपर्छ,” उनी लेख्छन्।
‘जेरुसेलमका कवि’ उपनामले चिनिएका ४३ वर्षीय तमिम पनि बुबाआमाझैं कविता लेख्छन्, अध्ययनका दृष्टिले उनी राजनीतिशास्त्री हुन्।
इजरायली योजनाले प्यालेस्टाइनलाई विस्मृत पार्दै गएकोमा मुरिद आहत छन्। “उनीहरूले पश्चिमी प्यालेस्टाइन आफ्नो बनाए। कैयौं प्यालेस्टाइन पूर्वी भेगमा शरणार्थी छन्। पूर्वी प्यालेस्टाइनको नामकरण गरेका छन्, वेस्ट ब्याङ्क। यसको निहितार्थ हो– प्यालेस्टाइनलाई विश्व मानचित्रबाट मात्र नभई इतिहास र स्मृतिबाटै नामेट पार्ने,” उनी भन्छन्।
बर्घौटीका संस्मरणहरू आफ्नै भूमिमा अपरिचित हुनुको पीडाका कोलाज हुन्। उनका दुवै संस्मरण आक्रोशले भरिएका छन्, विचारोत्तक अनि शक्तिशाली छन्।
अरब देशहरूको दोहोरो रबैयाबाट आजित छन् प्यालेस्टिनी। बर्घौटीको बुझाइमा, “उनीहरू प्यालेस्टाइन देश मन पराउँछन्, तर प्यालेस्टिनीलाई भने साह्रै घृणा गर्छन्।” उनी थप्छन्, “प्यालेस्टिनी हुनु भनेको गुमाउनु मात्र हो– त्यो पनि अनेकन् तवरले। विरासतमा मैले गुमेको घर, गुमेको भूगोल र गुमेको इतिहास पाएको छु। तर, पनि आशा भने अझै जीवित छ, अनि हाम्रो आवाज पनि दबेको छैन।”
यासेर अराफातको प्यालेस्टाइन नेतृत्वप्रति त बर्घौटी पहिलेदेखि नै असन्तुष्ट थिए। पछि यो असन्तुष्टि आक्रोशमा बदलिँदै गयो। खासगरी सन् १९९३ को ओस्लो सम्झौतापछि अराफात नेतृत्वको कमजोर अडानका कारण प्यालेस्टाइनले स्वतन्त्र देश बन्ने अवसर गुमाएको उनको ठम्याइ छ। नर्वेको मध्यस्थतामा गरिएको यो सम्झौतापछि धेरै प्यालेस्टिनीको मन कुँडियो।
सम्झौतापछि प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ)को अस्तित्व त स्वीकारियो, तर छुट्टै प्यालेस्टाइन राज्य बन्न सकेन। क्रमशः इजरायलले प्यालेस्टाइन क्षेत्रमा कब्जा गर्दै गयो, नयाँ बस्ती बसाउँदै प्यालेस्टाइन अधिकार संकुचित पार्दै लग्यो। अराफात कमजोर अध्यक्ष साबित भए।
“ओस्लो सम्झौतापछि नवगठित प्यालेस्टाइन प्राधिकरणले आफैंलाई सरकार ठान्ने र सीमित भूमिमा खुम्चाइएको प्यालेस्टाइनलाई नै राज्य मान्ने चरम भूल गर्याे। त्यसमाथि भ्रष्टाचारमा चुर्लुम्म डुब्दै गयो र बचेकुचेको साख पनि स्वाहा पार्याे,” बर्घौटी लेख्छन्।
हालको जेरुसेलम हजार वर्षअघि यहुदीभूमि रहेको र यहीं नै हिब्रु भाषाको बाइबल फेला परेको मानिन्छ। जेरुसेलमलाई यहुदी मात्र होइन, इसाई, मुसलमान, वहाइ धर्मावलम्बीले पनि आ–आफ्नो पवित्र थलो ठान्छन्।
१९औं शताब्दीको अन्त्यतिर प्यालेस्टाइन भूमिमा यहुदी बस्ती बसाल्ने अभियान थालियो। बेलायती सरकारको बाल्फोर घोषणासँगै ‘जायोनिज्म’ नामले परिचित अभियानले गति लियो। पहिलो विश्वयुद्धको लगत्तै बेलायतको सक्रियतामा यहुदीहरू प्यालेस्टाइनमा ओइरिन थाले। अनि, प्यालेस्टिनीलाई विस्थापित गरी सन् १९४८ मा स्वतन्त्र इजरायलको घोषणा गरे।
“ओस्लो सम्झौतापछि नवगठित प्यालेस्टाइन प्राधिकरणले आफैंलाई सरकार ठान्ने र सीमित भूमिमा खुम्चाइएको प्यालेस्टाइनलाई नै राज्य मान्ने चरम भूल गर्याे। त्यसमाथि भ्रष्टाचारमा चुर्लुम्म डुब्दै गयो र बचेकुचेको साख पनि स्वाहा पार्याे,” बर्घौटी लेख्छन्।
‘टु स्टेट सोलुसन’ अर्थात् इजरायल र प्यालेस्टाइनको सहअस्तित्वमा विश्वास गर्ने केही इजरायली पनि छन्। आमोस ओज (दिवंगत), डेभिड ग्रसमन लगायतका इजरायली लेखक, बुद्धिजीवीले सधैं यसको पक्षमा पैरवी गरिरहे।
ओस्लो सम्झौतापछि यो भूगोलमा शान्ति प्रक्रियाको धुन निकै गुन्जियो। शान्तिको आह्वान गर्दै 'पिस नाउ' जस्ता संस्था पनि उदाए। तर, अहिले पनि इजरायल र प्यालेस्टाइनबीच युद्ध रोकिएको छैन। क्रमशः प्यालेस्टिनी इतिहास मेटाउँदै उनीहरूलाई ‘आतंककारी’को परिचयमा सीमित पारिँदै छ।
हमास लगायतका लडाकु समूहहरूका हिंसात्मक गतिविधिले इजरायली दमन र अतिक्रमणलाई मलजल गर्दै छ। इजरायलभित्र रहेका अरबीहरूको अवस्था अझ भयानक छ। त्यसैले त बर्घौटी सहअस्तित्वका वकालत गर्नेहरूबाट पनि कुनै अपेक्षा राख्दैनन्, उनीहरू प्यालेस्टाइन पीडा र हकअधिकारप्रति रत्तिभर पनि संवेदनशील नरहेको ठान्छन्।
“इजरायल शान्तिको पक्षमा कहिल्यै छैन। जब जब प्यालेस्टिनी शरणार्थीको घरफिर्तीको विषय उठ्छ, आमोस ओज र डेभिड ग्रसम्यान जस्ता बौद्धिक पनि अनुदारवादी राजनीतिज्ञ एरियल स्यारोन तथा यहुद ओल्मर्टकै बोली बोल्छन्। लाग्छ, उनीहरू केवल यहुदी सजातीयताको बारेमै केन्द्रित छन्,” बर्घौटी आक्रोश ओकल्छन्, “इराक र अफगानिस्तानमाथिको कब्जाको बचाउ गर्छ अमेरिका। दशकौंदेखि इजरायली कब्जामा छ प्यालेस्टाइन। तर, कतिपय अतिक्रमण अमेरिकालाई मन पर्दैन। जस्तो कि, कुवेतमाथिको इराकी कब्जा।”
बर्घौटी मूलतः कवि हुन्। विस्थापनका पीडा छन् उनका प्रत्येक कवितामा। बिछोडका वेदना पनि बाक्लै छन्। यस्तो लाग्छ, उनका हरेक कविता त्रासदीपूर्ण घटनाहरूको सिङ्गो दस्तावेज हो। तर पनि, कोमलभाव र गम्भीर दर्शनको समान घोल छ उनका अधिक कवितामा।
एक उदाहरण–
सत्यले व्याख्या खोज्दैन
घोडसवारको मृत्युपछि
घर फर्किरहेको घोडाले
सबै कुरा भन्छ
केही नबोलीकनै ।
प्यालेस्टाइन भूमिमाथि इजरायली अतिक्रमण रोकिएको छैन। ऐतिहासिक आधारमा एघारौं शताब्दीको अन्त्यदेखि बसोबास गरेका हालका प्यालेस्टिनीलाई भूमिहीन र राज्यविहीन बनाउनु कुन मानवीयता हो? यदि यही दलिलको सहारा लिएर ऐतिहासिकताको दाबी गर्ने र अर्को पक्षलाई बहिष्करण गर्ने हो भने त संसारभरका कुनै भूगोल पनि चोखो रहनेछैन, हालको बहुल समाजको आकार र नक्शा पनि सग्लो रहनेछैन।
पछिल्लो पुस्ताकी प्यालेस्टिनी कवि हुन् रफिफ जियादे। उनका पर्फमेन्स कवितामा आक्रोश र आशाको अनुपात समान भेटिन्छ। जियादे–पुस्ताका अरू ऊर्जावान् प्यालेस्टिनी स्रष्टा छन्– नज्वान दार्विस, रशीद हुसैन, सेलिम दवग, राजा शेहदेह। प्यालेस्टिनी पीडा अनुभूति गर्न र प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाउन हरेक वर्ष ‘प्यालेस्टाइन साहित्य उत्सव’ गरिन्छ। ज्यान नै जोखिममा राखेर विभिन्न देशका लेखकहरू वेस्ट ब्याङ्क र गाजा क्षेत्रका विभिन्न इलाकामा पैदलयात्रा गर्छन्, कविता सुनाउँछन्, बहस विमर्शमा सरिक हुन्छन्। उनीहरूका अनुभव सँगालेर पुस्तक पनि प्रकाशन गरिन्छ।
प्यालेस्टाइन अस्तित्वलाई ताजा गराउने यस कार्यको अगुवाइ गरिरहेकी छन्, आदाफ सुइफले। उनलाई छोरा ओमार अब्दुल्लाह ह्यामिल्टन र साथीहरूले पनि सघाइरहेका छन्। नयाँ पुस्ताका यी लेखकहरूको उत्साह र निरन्तर आबद्धताले प्यालेस्टिनी स्मृति कसैले चाहँदैमा नामेट भइनहाल्ने बलियो आधारशीला भेटिन्छ। प्यालेस्टाइनलाई माया गर्ने कैयौं स्रष्टा इजरायलले कब्जा गरेको भूमि एकदिन स्वतन्त्र हुने अनि शरणार्थी बनेका प्यालेस्टिनीहरू आफ्नो घर फर्कने विश्वास गर्छन्।
जस्तो कि बर्घौटीको कवितांश भन्छः
कसैले वास्तै गरेको छैन हाम्रो इतिहासलाई
कुनै दिन, कोही आउनेछ र बदल्नेछ यो परिस्थितिलाई
उनै मुरिद बर्घौटीको ७६ वर्षको उमेरमा गत १४ फेब्रुअरीमा निधन भयो। शायद जीवनको उत्तरार्द्धमा पनि उनी परिस्थिति बदल्न ‘कोही आउने’ आशामै थिए।