नरोत्तम वैद्यको अभिव्यक्ति आपराधिक र आपत्तिजनक : एमाले
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली लक्षित नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यको अभिव्यक्तिप्रति नेकपा (एमाले)ले कडा आपत्ति जनाएको छ।
वैद्यले शुक्रबार प्रदेश सभा बैठकमा राखेकाे अभिव्यक्तिका विषयमा एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले शनिबार जारी गरेकाे वक्तव्यमा वैद्यमाथि फौजदारी कानून आकर्षित हुने उल्लेख गरेका छन्। “बागमती प्रदेश सभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको छ” ज्ञवालीले भनेका छन्, “प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ।”
प्रदेश सांसद वैद्यको अभिव्यक्तिको भत्सर्ना गर्दै एमालेले यो विषयमा मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने र सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गराएको छ।
शनिबार बसेको प्रदेश सभा बैठकमा आत्मआलोचित हुँदै वैद्यले आफ्नो अभिव्यक्ति ‘रेकर्ड’मा नराख्न प्रदेश सभामुखलाई आग्रह गरेका छन्।