महामारीमा उच्च जोखिममा अशक्त र बहुअपांगता भएका व्यक्ति
अरूको सहयोग चाहिने पूर्ण अशक्त, बौद्धिक अपांगता भएका तथा अटिजम भएका व्यक्तिहरू कोरोना संक्रमण महामारीको यो वेला उच्च जोखिममा छन्।
गत जेठ पहिलो साता ललितपुरको महालक्ष्मी नगरपालिकाको लामाटारकी एक जना बौद्धिक अपांगता भएकी किशोरीकी आमाको कोरोना संक्रमणबाट मृत्यु भयो। किशोरी र उनको बुवालाई पनि संक्रमण भयो। आमाको निधन र बुवा संक्रमित भएपछि ती किशोरीलाई हेरचाह गर्ने कोही नभएको र संक्रमित हुँदा पनि उनी घरबाहिर घुमफिर गरेर हिँडिरहेको भन्दै अपांगता अधिकारकर्मी भोजराज श्रेष्ठले १ जेठमा फेसबूकमा लेखेका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्वार्टरमा बस्ने लक्ष्मी बस्नेतकी २५ वर्षीया छोरी बौद्धिक अपांग छिन्। गत वैशाखको अन्तिममा उनको परिवारमा सबैलाई कोरोना भयो। शुरूमा श्रीमान्लाई २८ वैशाखमा संक्रमण देखिएपछि छुट्टै कोठामा बसे। तर, बाबासँगै बस्ने भन्दै बौद्धिक अपांगता भएकी छोरीले छोड्नै मानिनन्। अन्तत: तीन दिनपछि ती छोरीलाई पनि कडा ज्वरो आउने र बान्ता भइरहने भयो।
छोरीको अवस्थाबारे बस्नेतले भनिन्, “सजिलो ठाउँमा अलिअलि हिँडे पनि अरू केही पनि गर्न सक्दिनन्। शौचालय लग्नेदेखि खुवाउने, हिँडाउनेसम्मको काममा सहयोग चाहिन्छ।”
छोरीले मास्क लगाउन नमान्ने भएकाले फेरि संक्रमणको जोखिम थियो। उनले छोरीलाई कीर्तिपुरको आयुर्वेदिक अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउन लगिन्। तर, छोरी डराएर मानिनन्। “यस्तो खालको अपांगता भएका व्यक्तिहरूलाई त अस्पतालले फकाएर वा अरू केही उपायले खोप लगाइदिनुपर्ने हो। तर, लगाउनै नमान्नेलाई किन लिएर आएको भन्ने प्रश्न पो सुन्नुपर्यो।”
हरबखत अरूको हेरचाह चाहिने अपांगता भएका व्यक्तिको रेखदेख र स्वास्थ्यको विषय यो महामारीमा पेचिलो बनिरहेको छ। यति मात्र हैन, महामारीमा विभिन्न सीमा र असहजता भोग्दै उनीहरूको रेखदेख गर्नुपर्दा अभिभावकहरू पनि मानसिक तनावमा छन्।
एक जना आफन्तमार्फत छोरीलाई खोप लगाउन फेरि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लिएर गइन्। त्यहाँ पनि त्यस्तै व्यवहार पाइन्। अस्पतालले केही पनि सहयोग नगर्ने पाएपछि अन्यत्र पनि यस्तै होला भनेर २/३ जनाले समातेर खोप लगाउन लगाएको उनले सुनाइन्।
काठमाडौंकी नीता क्षेत्री (परिवर्तित नाम) को ११ वर्षीय छोरालाई अटिजम छ। घरमा श्रीमान्लाई कोरोना भएको केही दिनपछि छोरालाई पनि लक्षण देखिन थाल्यो। अब पीसीआर परीक्षणका लागि छोराको स्वाब कसरी लिने भन्ने तनाव भयो। छोरालाई स्वाबका लागि तयार पार्न उनले धेरै पटक भिडिओ देखाइन् र भोलिपल्ट अस्पताल लगिन्। तर, पीपीई सेट लगाएको स्वास्थ्यकर्मी देखेपछि उनी नजिक जानै मानेनन्। परीक्षण गराउन सम्भव नभए पनि ज्वरो आउने लगायत लक्षण देखिएको आधारमा संक्रमितसरह घरमै रेखदेख गरेको उनले बताइन्।
यी केही प्रतिनिधि घटना हुन्, हरबखत अरूको हेरचाह चाहिने र केही पनि बुझ्न नसक्ने अपांगता भएका व्यक्तिको रेखदेख र स्वास्थ्यको विषय यो महामारीमा पेचिलो बनिरहेको छ। यति मात्र हैन, महामारीमा विभिन्न सीमा र असहजता भोग्दै उनीहरूको रेखदेख गर्नुपर्दा अभिभावकहरू पनि मानसिक तनावमा छन्।
बौद्धिक अपांगता भएका व्यक्तिका अभिभावकहरूको महासंघका अध्यक्ष मुकुन्द दाहाल चौबीसै घण्टा हेरचाह चाहिने अपांगता भएका व्यक्तिहरूका परिवारको पीडाको अगाडि यो महामारीमा सरकारको साथ–सहयोग शून्य नै रहेको बताउँछन्।
भक्तपुरकी शान्ति (नाम परिवर्तन) त्यस्तै मानसिक तनाव रहेको बताउँछिन्। “मेरो २५ वर्षको भाइ र २७ वर्षकी बहिनीमा बौद्धिक अपांगता छ, बुवा वृद्ध हुनुहुन्छ। तीन जनाको हेरचाहको जिम्मा मेरै हो,” उनले भनिन्, “भाइ र बहिनी न मास्क लगाउन मान्छन्, न त मान्छेको छेउमा नजाऊ भनेको नै बुझ्छन्। उनीहरू वा मलाई जसलाई संक्रमण भए पनि सबैलाई सर्छ भन्ने चिन्ताले सताएको छ।”
त्यसमा पनि तीन जनाको हेरचाह गरिरहेको आफू नै बिरामी भएमा उनीहरूको अवस्था के होला भनेर सताउने गरेको उनले बताइन्।
‘सरकारले पीडा देखेन’
बौद्धिक अपांगता भएका व्यक्तिका अभिभावकहरूको महासंघका अध्यक्ष मुकुन्द दाहाल चौबीसै घण्टा हेरचाह चाहिने अपांगता भएका व्यक्तिहरूका परिवारको पीडाको अगाडि यो महामारीमा सरकारको साथ–सहयोग शून्य नै रहेको बताउँछन्। उनी भन्छन्, “गत वर्ष संक्रमणको पहिलो लहर सकिएपछि स्वास्थ्य मन्त्रालयले केही अध्ययन गर्ने भनेर मसँग कुराकानी गरेको थियो, राष्ट्रिय योजना आयोगले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तै विषयमा छलफल गर्न बोलाएको थियो। तर, बजेटमा हामीले उठाउँदै आएको मुद्दा सम्बोधन नै भएन।”
अपांगता भएका व्यक्तिका अभिभावकलाई कोरोना महामारीको वेला थपिएको तनाव शब्दमा व्यक्त गर्नै नसकिने खालको रहेको दाहाल बताउँछन्।
अपांगता अधिकारकर्मीहरू अपांगता अधिकार सम्बन्धी ऐन र नियमावलीमा भएको प्रावधान कार्यान्वयन गरिदिने हो भने यस खालका अपांगता भएका व्यक्तिका परिवारलाई निकै राहत हुने बताउँछन्। तर विडम्बना के छ भने, सरकारले कानून त बनाउँछ, कार्यान्वयन भने हुँदैन। राष्ट्रिय अपांग महासंघका महासचिव राजु बस्नेत पनि अपांगता अधिकार सम्बन्धी ऐन र नियमावली कार्यान्वयनसँगै विपद्का वेला अपांगता भएकाहरूका लागि राज्यको छुट्टै नीति चाहिने बताउँछन्।
“अटिजम भएका प्रायः बालबालिका एकदमै चञ्चले हुन्छन्। उनीहरूसँग चौबीसै घण्टा हेरचाह गर्ने मान्छे हुनुपर्छ। कतिपयलाई हेर्न त दुई जना चाहिन्छ। यसैले भाडाको कोठामा बस्ने अभिभावकलाई एकदमै समस्या भएको छ।”
अपांगता भएको व्यक्तिको अधिकार सम्बन्धी ऐन एवं नियमावली (२०७६) मा हरेक पालिकाले आफ्नो पालिकामा रहेका सबै किसिमका अपांगता भएका व्यक्तिहरूको अभिलेख राख्नुपर्ने उल्लेख छ। त्यो अभिलेख अनुसार, सामुदायिक सहायता सेवा (नियमावलीको नियम ९) अन्तर्गत पूर्ण अशक्त, अति अशक्त अपांगता, श्रवण–दृष्टिविहीन अपांगता, बौद्धिक अपांगता, अटिजम वा मनोसामाजिक अपांगता तथा बहुअपांगता लगायत अवस्था भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा, दैनिक हेरचाह तथा स्याहार सेवा, क्लिनिकल परामर्श, सामान्य परामर्श आदि आवश्यक पर्ने भएमा सरकारले व्यवस्था गर्नुपर्ने प्रावधान छ।
अटिजम भएका बालबालिकाका लागि काठमाडौंको पेप्सीकोलामा सञ्चालित विशेष शिक्षा स्कूलका तीन विद्यार्थी र उनीहरूका परिवारलाई कोरोना संक्रमण हुँदा एकदमै तनाव भएको विद्यालयकी सञ्चालक सविता उप्रेती बताउँछिन्।
“अटिजम भएका प्रायः बालबालिका एकदमै चञ्चले हुन्छन्,” उप्रेती भन्छिन्, “उनीहरूसँग चौबीसै घण्टा हेरचाह गर्ने मान्छे हुनुपर्छ। कतिपयलाई हेर्न त दुई जना चाहिन्छ। यसैले भाडाको कोठामा बस्ने अभिभावकलाई एकदमै समस्या भएको छ।”
अटिजम भएका बच्चालाई निश्चित ठाउँमा अलग्गै राख्न नसकिने भएकाले परिवारको सदस्य कसैलाई कोरोना संक्रमण भएमा संक्रमणको सम्भावना बढी हुने उनी बताउँछिन्। अटिजम भएका बच्चा संक्रमित भएमा आइसोलेसन सेन्टर वा अस्पताल लैजान पनि यस्ता बच्चा आउन सक्छन् भन्ने गरी सोचेर बनाइएकै हुँदैन।”
अपांगता अधिकारकर्मीहरूका अनुसार, अटिजम, डाउन सिन्ड्रोम, बौद्धिक अपांगता, मनोसामाजिक अपांगता, मस्तिष्क पक्षाघात (सेरेब्रल पाल्सी), श्रवण–दृष्टिविहीन, स्पाइनल कर्ड इन्जुरी (मेरुदण्डको पक्षाघात) भएका चौबीसै घण्टा हेरचाह गर्नुपर्ने खालका अपांगता भएका व्यक्ति र उनीहरूका अभिभावकलाई कोभिडको चिन्तासँगै मानसिक तनाव थपिने गरेको छ।
“अपांगता भएकाहरूका लागि नियमित खानुपर्ने औषधि तथा युरिन ब्याग, पन्जा, डाइपर लगायत अत्यावश्यक सामग्रीहरू किन्नै नपाइने, पाए पनि एकैपटक किनेर राख्न पैसा नहुने, नियमित गर्नुपर्ने थेरापी गर्न नपाउने जस्ता समस्या हुने गरेको छ।”
विभिन्न प्रकारको अपांगता भएका व्यक्तिहरूको अधिकारका साथै थेरापीमा काम गर्दै आएकी देवु पराजुली अपांगता भएका व्यक्तिहरूमध्ये पनि महिलाहरू बढी समस्यामा परेको बताउँछिन्। उनका अनुसार, मेरुदण्ड पक्षाघात हुनेको शरीरको तल्लो भागले केही पनि थाहा नपाउने भएकाले दिसापिसाब भएको तथा महिलाहरूमा महीनावारी भएको समेत थाहा हुँदैन।
“उनीहरूका लागि नियमित खानुपर्ने औषधि तथा युरिन ब्याग, पन्जा, डाइपर लगायत अत्यावश्यक सामग्रीहरू किन्नै नपाइने, पाए पनि एकैपटक किनेर राख्न पैसा नहुने, नियमित गर्नुपर्ने थेरापी गर्न नपाउने जस्ता समस्या हुने गरेको छ,” पराजुली भन्छिन्, “दिसापिसाबको समस्याका साथै महीनावारी पनि हुने भएकाले हेरचाह गर्ने मानिस चाहिने अपांगता भएका महिलालालाई झनै बढी समस्या हुन्छ।”
गत वर्ष नेपाल अपांग महिला संघले गरेको ‘कोभिडले महिला र बालिकाहरूमा परेको असर’ विषयको एक अनुसन्धान प्रतिवेदनका अनुसार कोभिड १९ लगायत कारणले झन्डै ३८ प्रतिशतलाई नयाँ समस्या सिर्जना भएको देखिएको थियो। अनुुसन्धानका अनुसार, ३७ प्रतिशतलाई नियमित स्वास्थ्य जाँचमा कठिनाइ परेको र करीब ३६ प्रतिशतले नियमित स्वास्थ्य जाँच गर्न नपाएको देखिएको थियो।