जनमोर्चाले कृष्ण थापालाई सांसदबाट हटायो
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई हटाएको छ।
जनमोर्चाको सिफारिशमा गण्डकी प्रदेशका सभामुख नेत्रराज अधिकारीले सांसद थापा पदमुक्त भएको घोषणा गरेका हुन्। उनले प्रदेश सभामा ह्विप उल्लंघन गरेकाले कारबाही गरिएको जनमोर्चाले जनाएको छ।
बिहीबार प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिएका थिए। जनमोर्चाले विश्वासको मतको विपक्षमा मतदान गर्न, तटस्थ नबस्न र अनुपस्थित नहुने ह्विप जारी गरेको थियो।
तर, थापा तटस्थ बसेका थिए। उनीे ह्विप उल्लंघन गरेर तटस्थ बसेकाले कारबाही गरिएको जनमोर्चा सचेतक पियारी थापाले बताइन्। “यसअघि गरिएको कारबाही सर्वोच्च अदालतले रोकेको थियो। सर्वोच्चले यसअघिको कारबाही रोकेको भए पनि ह्विप उल्लंघन गर्दा कारबाही नगर्नु भनेको होइन। उहाँ जनमोर्चाकै सांसद हुन्। पार्टीले भनेको मान्नुपर्छ। तर, उहाँले ह्विप उल्लंघन गरेकाले काबारही गरिएको हो,” थापाले भनिन्।
यसअघि पनि जनमोर्चाले उनलाई कारबाही गरेको थियो। तर, सर्वोच्च अदालतले प्रक्रिया नपुगेको भन्दै अन्तरिम आदेशमार्फत थमौति गरेको थियो।