विश्वकप छनोट : आज अस्ट्रेलियासँग भिड्दै नेपाल
फिफा विश्वकप तथा एसियन कप छनोटअन्तर्गत आज नेपाल अष्ट्रेलियासँग भिड्न लागेको छ।
आज नेपालले बलियो टिम अस्ट्रेलियाको सामना गर्नेछ। कुवेतको अल अह्मद अन्तर्राष्ट्रिय रंगशालामा राति ९ः४५ बजे प्रतिस्पर्धा हुनेछ।
समूह ‘बी’मा रहेको नेपाल विश्वकप छनोटबाट बाहिरिसकेको छ। एसियन कपमा छनोटका लागि नेपाली टोलीले आजको खेलमा प्रतिस्पर्धा गर्नेछ।
पाँच टोली सहभागी समूह ‘बी’मा अस्ट्रेलिया १८ शीर्ष स्थानमा रहेको छ। अस्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरणमा पुगिसकेको छ।
नेपाल ६ अंकसहित चौथो नम्बरमा छ। त्यस्तै, जोर्डन १३ र कुवेत १० अंक सहित नेपालभन्दा माथि छन्। चाइनिज ताइपेइले भने अंक जोड्न सकेको छैन।
यसअघि सन् २०१९ मा भएको खेलमा अस्ट्रेलियासँग नेपाल ५-० ले पराजित भएको थियो।
नेपाल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुनाइरीले नेपालको खेलमा सुधार आएको बताए। अस्ट्रेलियासँगको खेल कठिन भए पनि महत्वपूर्ण भएको उनको भनाइ छ।