नेपाल पक्षका कर्णालीका चार सांसदको पुनर्बहाली
फ्लोर क्रस गर्दा कारबाहीमा परेका नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षका कर्णाली प्रदेशका चार सांसदको पद जोगिएको छ।
बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत उनीहरूको पद थमौति गरेको हो। कारबाहीमा परेका अमरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दबहादुर बुढाको पुनर्बहाली भएको छ। थापा दैलेख १ ‘ख’, ज्वाला सल्यान १ ‘ख’, शाही कालिकोट १ ‘क’ र बुढा डोल्पा १ ‘क’ बाट प्रदेश सभाबाट निर्वाचित भएका थिए।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ३ वैशाखमा कर्णाली प्रदेश सभामा विश्वासको मत लिएका थिए। त्यतिबेला एमालेका चारै जना सांसदले ‘फ्लोर क्रस’ गरेका थिए।
उनीहरू ह्विप उल्लंघन गरेको भन्दै १४ वैशाखमा कारबाही गरेको थियो। एमालेको सिफारिशमा प्रदेश सभा सचिवालयले पनि उनीहरू पदमुक्त भएको जानकारी दिएको थियो। त्यसका विरुद्ध उनीहरू सर्वोच्च अदालत पुगेका थिए।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारबाही कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको हो। आदेशमा भनिएको छ, “नेपाल कम्युनिष्ट पार्टी (एमाले) दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको मिति २०७८/०१/१० मा बसेको दोस्रो बैठकको निर्णय भनी नेपाल कम्यनुष्टि पार्टी (एमाले)को लेटरप्याडमा उल्लेख गरेको कर्णाली प्रदेश सभा सदस्य र कर्णाली प्रदेश संसदीय दलको सदस्य पदसमेतबाट निष्कासन गरेको निर्णय तथा सो आधारमा मिति २०७८/०१/१२ मा नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको कार्यालयको प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई लेखेको पत्र र सो आधारमा निर्वाचन आयोगलाई गरेको पत्राचार कार्यान्वयन नगर्नू, नगराउनू र निवेदकहरूलाई कर्णाली प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा यथावत काम गर्न दिनू भनी विपक्षीहरूको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) ‘क’ बमोजिम यो अन्तरिम आदेश जारी गरी दिएको छ।”