नवनियुक्त गृहमन्त्रीले भने–निर्वाचनको तयारीमा जुट्नुस्
नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले मातहतका निकायलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्।
बिहीबार कार्यभार सम्हाल्ने क्रममा उनले भने, “भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न गर्नका लागि कार्ययोजना बनाइहाल्नुस्।”
मातहतका कर्मचारीलाई लक्षित गर्दै निर्वाचनमा को हार्ला? भनेर चिन्ता नगर्न समेत उनले निर्देशन दिए। चुनावमा प्रणाली र लोकतन्त्रले जित्नुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर आगामी कार्तिक र मंसिरका लागि मध्यावधि चुनाव घोषणा गरेकी छन्। संसद् विघटन विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
गृहमन्त्री अधिकारीले पारदर्शितामा जोड दिइने बताए। उनले भने, “भ्रष्टाचारको दुर्गन्ध भेटिए त्यसमा ‘कम्प्रोमाइज’ हुनै सक्दैन।”
अधिकारीसहित ८ मन्त्रीले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन्।