मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएका छन्।
बिहीबार मुख्यमन्त्री गुरुङले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २७ मात्रै मत खसे। मुख्यमन्त्री गुरुङलाई एमाले २७ जना सांसदले मात्रै मतदान गरेका छन्।
उनले राखेको विश्वासको मतको विपक्षमा ३० मत खसेका छन्। एक जना तटस्थ बसेका छन्। मतदानमा ५८ जना सांसद सहभागी थिए।
नेकपा (एमाले)का सांसद मुख्यमन्त्री गुरुङको पक्षमा मतदान गरेका छन्। त्यस्तै, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनोमार्चा र जनता समाजवादी पार्टी (जसपा)का सांसदले विपक्षमा मतदान गरेका हुन्।
६० सदस्यीय प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२ (सभामुखसहित), जनमोर्चाका तीन, जसपाका दुई र एक जना स्वतन्त्र सांसद छन्।
उनलाई २९ वैशाखमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताका रुपमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।
उनी पहिलो पटक २०७४ मा मुख्यमन्त्री बनेका थिए। त्यतिवेला माओवादी र जनमोर्चाले समर्थन जनाएको थियो।