मुख्यमन्त्री गुरुङको विपक्षमा भोट हाल्न जनमोर्चाको निर्देशन
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ।
जनमोर्चा गण्डकी प्रदेश संसदीय दलका नेता पियारी थापाले बिहीबार प्रदेश सभा बैठकमा बोल्दै आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा भोट दिन ह्विप जारी गरेको बताइन्।
आफूहरूले दिएको समर्थनमाथि तीन वर्ष पुग्दानपुग्दै मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारले घात गरेको थापाको भनाइ छ। गण्डकीमा जनमोर्चाका तीन सांसद छन्।
यस्तै, जनता समाजवादी पार्टीले पनि गुरुङको विपक्षमा मतदान गर्ने भएको छ।
गुरुङ संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हुन। यसरी बनेका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।