कोरोनाका बेला अस्थिरता राजनीतिको दुःखान्त : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले)का नेता पृथ्वीसुब्बा गुरुङले कोभिड-१९ महामारीका बेला सत्ता दाउपेचमा अल्झिनु दुःखद भएको बताएका छन्।
बिहीबार गण्डकी प्रदेश सभामा विश्वासको मत माग्ने क्रममा उनले भने, “कोरोना महामारीका बेला अस्थिर राजनीति गर्नु हाम्रो राजनीतिको दुःखान्त पक्ष हो।”
गण्डकी प्रदेश सभा पूरा कार्यकाल चलोस् भन्ने चाहेको उनले बताए। यो विषयप्रति सांसदहरू गम्भिर हुन पर्ने बताउँदै उनले आफूलाई विश्वासको मत दिन समेत उनले आग्रह गरेका छन्।
तत्काल वैकल्पिक सरकार बन्ने संभावना नभएको उनको भनाइ थियो।
नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएपछि गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि दुई वा सो भन्दा बढी दलले बहुमत पुर्याउन नसकेपछि गुरुङ सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका हुन।
यसरी बनेका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। त्यही अनुसार उनी आज प्रदेश सभामा विश्वासकाे मत लिइरहेका छन्।