प्रतिनिधि सभा विघटनविरुद्धको निवेदनमा २० असारमा आउनसक्छ अन्तिम आदेश
सर्वोच्च अदालतमा ९ असारबाट निरन्तर सुनुवाइ शुरू हुनेछ। अदालतले लिखित आदेश नै दिएर ३२ घण्टाभित्र बहस सक्न भनेको छ। इजलासमा एक दिनमा ४ घण्टा काम हुने हिसाबले ८ दिनको बहसपछि २० असारमा अन्तिम आदेश आउनसक्छ।
प्रतिनिधि सभा विघटनविरुद्ध शेरबहादुर देउवा लगायत १४६ जना सांसदहरूले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले बुधबार कारण देखाऊ आदेशसहित समय व्यवस्थापनसम्बन्धी स्पष्ट आदेशहरू दिएको छ। लिखित आदेशमै समय व्यवस्थापनको स्पष्ट मार्गचित्र दिइएकाले अन्तिम आदेश आउने दिन अनुमान गर्न सजिलो भएको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा देउवालगायत सांसदहरूको बाहेक थप २९ निवेदन परेका थिए। सर्वोच्च अदालतले शुरूमा देउवासहितका सांसदहरूको निवेदनमा मात्र सुनुवाइ गर्नेछ। त्यसपछि उक्त निवेदनमा आउने अन्तिम आदेशका आधारमा अन्य निवेदनको टुंगो लाग्नेछ।
बुधबार सर्वोच्च अदालतले देउवासहितका सांसदहरूको निवेदनमा मात्र समयसीमा तोकेर आदेश गरेको हो। अन्य निवेदनमा समयको कडा सीमा तोकिएको छैन। बुधबारको आदेशमा दुई दिनभित्र म्याद तामेल गर्न, म्याद गुज्रेमा थाम्न नदिन र एक साताभित्र लिखित जवाफ दिन भनिएको छ। त्यसपछि ९ असारमा नियमित सुनुवाइका लागि पेश गर्न भनिएको छ। १० असारभित्र सबैले बहस नोट बुझाउनुपर्नेछ।
९ असारदेखि शुरू हुने निरन्तर बहसमा निवेदक पक्षले शुरूआतमा १२ घण्टाको समय पाउनेछन्। एक दिनमा इजलास अधिकतम् चार घण्टासम्म चल्छ। जसअनुसार ९ असार अर्थात् बुधबार शुरू हुने बहस ११ असार (शुक्रबार)मा सकिनेछ। १२ असार शनिबार अदालत पनि बिदा हुनेछ।
१३ असारदेखि सरकारी वकील र प्रधानमन्त्री लगायत विपक्षी बनाइएका व्यक्ति÷निकायहरूले निजी कानून व्यवसायी राखे भने उनीहरू सबैका लागि अदालतले १५ घण्टाको समय दिएको छ। जसअनुसार चार दिन अर्थात १६ असार (बुधबार) सम्ममा विपक्षीको बहस सकिनेछ।
त्यसपछि तीन घण्टा (एक दिन) अर्थात १७ असारमा निवेदकका कानून व्यवसायीले जवाफी बहस गर्नेछन्। सर्वोच्च अदालतले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट चार जना एमिकस क्युरी (अदालतका सहयोगी) झिकाएको छ। उनीहरूका लागि अधिकतम् दुई घण्टाको समय दिइएको छ। उनीहरूले १८ असारमा बहस गनेछन्।
एमिकस क्युरीको बहस सकिएसँगै १८ असार अर्थात् शुक्रबार २ बजे इजलास उठ्नेछ। १९ असार शनिबार भइहाल्यो। सर्वोच्च अदालतले २० असार आइतबारको दिन अन्तिम आदेश सुनाउन सक्नेछ।
सर्वोच्च अदालतको मुद्दा महाशाखाका सह-रजिष्ट्रार बाबुराम दाहाल आठ दिनसम्म बहस हुनसक्ने बताउँछन्। उनी भन्छन्, “अदालतले दुवै पक्षलाई बहसका लागि ३२ घण्टा (वर्किङ आवर) को समय दिएको छ, दैनिक चार घण्टा इजलास बस्ने हिसाबले ८ दिनमा बहस सकिनेछ।”
इसजालले समय व्यवस्थापन गरेकाले अन्तिम बहस आउन धेरै समय नलाग्ने उनको भनाइ छ। “९ असारबाट बहस शुरू हुन्छ। बिचमा एक दिन सार्वजनिक बिदा पनि पर्ने कारणले १८ असारसम्ममा बहस सकिने देखिन्छ,” दाहाल भन्छन्, “कोभिड-९ का कारण इजलासले आदेश जारी गरेरै समय व्यवस्थापन गरेकाले बहस शुरू भएको बढीमा दुई सतामा अन्तिम आदेश आउन सक्छ।”