बंगलादेशबाट आयो ३२ हजार पाँच सय मेट्रिक टन मल
बंगलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिक टन युरिया मल आइपुगेको छ।
सरकार-सरकार (जिटुजी) बीच भएको रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा युरिया मल आइपुगेको हो। जिटुजी सम्झौता अनुसार बंगलादेश सरकारले नेपाललाई ५० हजार मेट्रिक टन युरिया मल उपलब्ध गराउनेछ।
तीमध्ये बाँकी रहेको १७ हजार पाँच सय मेट्रिक टन युरिया मल आउने क्रममा रहेको प्रबन्धक गोरखनाथ केसीले बताए। बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गवाट वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयमा आउने उनले बताए।
सम्झौता अनुसार हालसम्म सरकारले सबै मल प्राप्त गरी सक्नु पर्ने थियो। तर, कोभिड-१९ को संक्रमणले गर्दा बाँकी मल आउन ढिलाई भएको प्रबन्धक केसीका भनाइ छ।
उनका अनुसार बाँकी मल छिटै नै उपलब्ध गराउन बंगलादेशस्थित नेपाली दूतावासले प्रयास गरिरहेको छ। सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन बंगलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउन लागेको हो।
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल दुई हजार सात सय मेट्रिकटन, डिएपी एक हजार ४०२ मेट्रिकटन र पोटास एक हजार २८० मेट्रिक टन मौज्दात अवस्था छ। (रासस)