प्रदेश सांसद थापालाई पुनर्वहाली गर्ने आदेशविरुद्ध जनमोर्चाको सर्वोच्चमा निवेदन
गण्डकी प्रदेश सभाका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने अन्तरिम आदेशविरुद्ध जनमोर्चाले सर्वोच्च अदालतमा निवेदन दिएको छ।
जनमोर्चा र प्रदेश सभाले पदमुक्त गरेका थापालाई सर्वोच्च अदालतले अन्तरिम आदेशद्वारा पुनर्वहाली गरेकाे थियाे। अन्तरिम आदेशलाई बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन (भ्याकेट) दिएको जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले बताइन्।
गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विपक्षी दलले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। त्यसलाई जनमोर्चाले समर्थन गरेको थियो।
तर, सांसद थापाले जनमोर्चाको निर्देशन विपरीत मुख्मयन्त्री गुरुङलाई सहयोग गरेका थिए। त्यसपछि जनमोर्चाले उनलाई कारबाही गरेको थियो। जनमोर्चाको सिफारिशमा प्रदेश सभाले पनि थापालाई पदमुक्त भएको घोषणा गरेको थियो।
त्यसविरुद्ध उनी २१ जेठमा सर्वोच्च अदालत पुगेका थिए। २३ जेठमा सर्वोच्च अदालतले उनलाई गरिएको कारबाही तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको थियो।
सर्वोच्चको अन्तरिम आदेशविरुद्ध जनमोर्चाले निवेदन दिएको हो। जनमोर्चाले दिएको निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले बताए। यसमा बिहीबार सुनुवाइ तोकिएको छ।