‘इजलास गठनलाई अनावश्यक विवादमा ल्याइयो, विगतका १२ दिन बिर्सनलायक रहे’
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बुधबार संवैधानिक इजलासमा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले विगतका १२ दिन बिर्सनलायक रहेको बताएका छन्।
न्यायाधीश खतिवडाका भनाइ उनकै शब्दमा :
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गनठबारे बिभिन्न प्रश्न उठेका छन्। सबै प्रश्नलाई ‘नोटिस’मा लिएका छौं।
इजलासका सन्दर्भमा उठेका सबै प्रश्नको जवाफ शब्दले मात्रै दिँदैन, कहिलेकाँही मौनताले पनि प्रश्नको जवाफ दिन्छ। प्रश्नलाई कुन ढंगबाट सम्बोधन गर्नुपर्छ वा पर्दैन त्यो हामी जान्दछौं।
सम्मानीयज्यूबाट यो कुरा स्पष्ट भइसकेको छ। म यो कुरा ‘रिइन्फोर्स’ गर्न चाहन्छु।
संवैधानिक इजलासमा सम्मानीय प्रधानन्यायाधीशको विकल्प छैन। संविधानले नै प्रधानन्यायाधीशको विकल्प दिँदैन। बाँकी हामी चार जना न्यायाधीश एउटै डुंगामा छौं। यो संयोगले भएकाे हाे, हाम्रो रहर थिएन।
संयोगले यो जिम्मेवारीमा आइपुगेका छौं, र अब जिम्मेवारीबाट भाग्दैनौं। यो जिम्मेवारी अनुसार यो मुद्दालाई ‘लजिकल इन्ड’मा पुर्याउने हो।
अब बेन्च गठनसम्बन्धी कुनै पनि प्रश्न, कुनै पनि सन्दर्भमा, बहसको सन्दर्भमा होस या अरू सन्दर्भमा कुनै प्रश्न नउठाउनु होला। हामी त्यो सुन्दैनौं।
लेख्नुपर्ने बेलामा भरे हो कि भोलि हो कि पर्सि हो, या फाइनल आदेशमा हो, हामी सल्लाह गरौला, के गरौला, त्यहिँ गरौला।
बेन्च गठनलाई अनावश्यक रुपमा विवादमा ल्याइयो। विगतका १२ दिन हामी सबैका लागि बिर्सनलायक रहे।
अब यसमा नअल्झिएर बहसलाई अगाडी बढाऔ। अब यसमा ‘करेक्सन’ हुनुपर्छ र हामी ‘करेक्सन’ गर्छौं।