हुम्लाको लिमीमा हटाइयो निषेधाज्ञा, कहाँ कहिलेसम्म?
तिब्बतसँग जोडिएको हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-६ को लिमीमा एक महीनापछि निषेधाज्ञा हटाइएको छ।
वडाध्यक्ष पालजोर तामाङको अध्यक्षतामा बसेको बैठकले असार मसान्त नजिकिएसँगै कामको चाप बढी हुने भएकाले लिमीमा कार्यरत सरकारी तथा गैरसरकारी कर्मचारीका लागि मंगलबारबाट नाम्खा-६ लिमी प्रवेश गर्न पाइने भएको छ।
तील, जाङ, हल्जीगाउँका अगुवाको उपस्थितिमा कर्मचारीलाई मात्र प्रवेश गर्न दिइने भएको छ भने अन्य लिमी उपत्यकाको भ्रमणमा आउने आन्तरिक पर्यटकलाई प्रवेशमा निषेध यथावत् नै रहने भएको लिमी स्वास्थ्य चौकीका निमित्त कार्यालय प्रमुख लोकनाथ बोहराले बताए।
अन्य क्षेत्रका नागरिकलाई प्रवेश गर्न नदिइने भए पनि कर्मचारीलाई प्रवेशमा खुला गरिएको उनले जानकारी दिए। उत्तरी नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमण देखिएको छैन।
यस्तै खार्पुनाथ गाउँपालिका-५ मा रहेको बाम्टागाउँमा निषेधाज्ञा हटाइएको छ। केही दिनअघि बाम्टामा परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो। उनीहरूको मंगलबार पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि निषेधाज्ञा हटाइएको बताइएको छ।
अहिले देशका ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ। केही जिल्लामा असार मसान्तममा सकिँदै छ भने केही जिल्लामा असार पहिलो सातासम्म थपिएको छ।