प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरामी परेपछि सोमबार र मंगलबार संवैधानिक इजलास बस्न सकेको थिए। आज फेरि सुनुवाइ तोकिएको सर्वोच्च अदालतले जनाएको छ।
यसअघि प्रधानन्यायाधीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वपरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई समेटेर संवैधानिक इजलास पुनर्गठन गरेका थिए। तर, त्यसमा रहेका न्यायाधीश कार्की र भट्टराईलाई लिएर सरकारी पक्षका कानून व्यवसायीले असन्तुष्टि जनाएका थिए।
उनीहरूले दुवै न्यायाधीशलाई संवैधानिक इजलासबाट अलग हुन आग्रह गरेका थिए। त्यहि विषयमा बहस भएपछि प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ हुन सकेको थिएन।
आज न्यायाधीशद्वय कार्की र भट्टलाईले संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्ने विषयमा आदेश सुनाउने भएका छन्। उनीहरू इजलासमा बसे भने सुनुवाइ अघि बढ्नेछ र बसेनन् भने फेरि प्रधानन्यायाधीश जबराले इजालास पुनर्गठन गर्नुपर्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरेकी थिइन्। उनले कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन्।
यसका विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
पाँचै दलका १४६ सांसद र बिभिन्न कानून व्यवसायीले गरी ३० वटा रिट दर्ता भएका छन्। जसमा २६ रिटमा प्रतिनिधि सभा पुनर्स्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ भने चार वटा रिटमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ