राजधानीमै कार्यपालिका र व्यवस्थापिका हुनुपर्ने माग राख्दै विराटनगर बन्द
प्रदेश १ मा दुई तिहाइ बहुमत रहेको नेकपाले विराटनगरलाई राजधानी बनाउने निर्णय गरेलगत्तै विराटनगरमा हड्ताल सुरु भएको छ ।
राजधानीमै कार्यपालिका र व्यवस्थापिका हुनुपर्ने माग राखेर नगरबासीले विराटनगर ठप्प पारेका छन्।
नेकपा संसदीय दलको आइतबारको बैठकले राजधानी विराटनगरमा हुने र कार्यपालिका, ब्यवस्थापिका लगायत संरचना सुनसरीको इटहरी र मोरङको सुन्दर हरैंचा आसपासमा रहने निर्णय गरेको थियो ।
आइतबार नै प्रदेश सभामा दर्ता भइसकेको सो विषय सोमबार निर्णय हुने सम्भावना छ ।
आइतबार राति विराटनगर महानगरपालिकाले आह्वान गरेको सर्वपक्षीय भेलाले सोमबारबाट अनिश्चितकालीन हड्ताल गर्ने निर्णय गरेको थियो।
आइतबार राति ११ बजे प्रेस विज्ञप्ति जारी गर्दै सोमबार बिहानैबाट गरिएको बन्दले शैक्षिक संस्थासमेत खुल्न सकेनन् ।
विराटनगरका विभिन्न चोकमा बन्दकर्ताले सवारी आवागमन ठप्प पारेका छन् ।
‘व्यवस्थापिका र कार्यपालिकासहित राजधानीको सुनिश्चितता नहुन्जेल हड्ताल जारी रहने’ विज्ञप्तिमा जनाइएको छ । विराटनगरलाई राजधानी बनाउन निर्माण गरिएको दबाब समितिमा नेकपाका नेताहरू पनि रहेका छन् ।
अर्थशास्त्री प्राडा भेषप्रसाद धमलाको संयोजकत्वमा बनेको दबाब समितिमा सहसंयोजक नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी रहेका छन् ।
सदस्यहरूमा मोरङ कांग्रेसका सचिव नागेश कोइराला, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार यादव, उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष तथा पूर्व सभासद पवन सारडालगायत छन् ।
बन्दकर्ताले नगरका विभिन्न ठाउँमा प्रदर्शन गर्दै सवारी साधन गुड्न दिएका छैनन् ।