कोरोनाबाट ५० दिनमा ५ हजारको मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ हजार नाघेको छ। पछिल्लो ५० दिनमा मात्रै पाँच हजार नेपालीले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १०९ जनाको मृत्यु भएको हो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ९८ पुगेको छ।
आजभन्दा ५० दिन अघि अर्थात ६ वैशाखसम्म कोरोनाबाट तीन हजार ९१ जनाले ज्यान गुमाएका थिए। त्यो दिनमात्रै एक जनाको मृत्यु भएको थियो भने आज १०९ जनाको मृत्यु भएको छ।
त्यसयता लगातार मृत्यु हुनेको संख्या बढ्दै आएको छ। त्यसको १० दिनपछि १६ वैशाखबाट काठमाडौं लगायत देशका बिभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ।
निषेधाज्ञा लागू भएको दिन १६ वैशाखमा कोरोनाबाट २६ जनाको मृत्यु भएको थियो। निषेधाज्ञा अघिको १० दिनमा १५५ जनाले ज्यान गुमाएका थिए।
त्यसपछिका १० दिनमा देशका ७० जिल्लामा निषेधाज्ञा लगाइएको थियो। निषेधाज्ञा लगाएको पहिलो १० दिनमा ४७४ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए। २६ वैशाखमा मात्रै ८८ जनाको मृत्यु भएको थियो।
निषेधाज्ञामा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या घट्न सकेन। उपचार र अक्सिजनको अभावमा ज्यान गुमाउनको संख्या चार गुणाले बढ्यो। २७ वैशाखदेखि ५ जेठसम्मको १० दिनमा एक हजार ९३७ जनाको ज्यान गयो। ५ जेठमै पनि २४६ जनाले ज्यान गुमाए।
त्यसपछिका १० दिनमा पनि कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा कमि आएन। ६ देखि १५ जेठसम्म एक हजार ५०६ जनाको मृत्यु भयो। १५ जेठसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार १६३ पुगेको थियो।
डेढ महीनादेखि निषेधाज्ञा लागू भए पनि कोरोना नियन्त्रणका लागि अन्य उपाय नअपनाउँदा ज्यान गुमाउनको संख्यामा कमि आउन सकेको छैन। पछिल्लो १० दिनमा पनि ९३५ जनाले ज्यान गुमाएका छन्। १५ जेठमै पनि ११६ जनाको मृत्यु भएको थियो भने आज १०९ जनाको मृत्यु भएको छ।
कोरोनाको सबैभन्दा बढी मार खेपिरहेको भारतमा भन्दा नेपालमा मृत्युदर बढी छ। नेपालमा मृत्युदर १.३ प्रतिशत रहेको छ भने भारतमा १.२ प्रतशित छ। दक्षिण एसियाका अन्य केही देशमा पनि मृत्युदर नेपालको भन्दा कम छ। भुटानमा ०.१, माल्दिभ्समा ०.३ र श्रीलंकामा ०.८ प्रतिशत मृत्युदर रहेको छ।