शेयर बजारमा चलखेल गरिएको आशंका, धितोपत्र बोर्डद्वारा छानबिन शुरु
शेयर बजार दिनहुँ फराकिलो अंकले बढ्न थालेपछि नियामक निकायले जोखिम बढेको भन्दै लगानीकर्तालाई सचेत हुन सुझाव दिएको छ।
नेपाल धितोपत्र बोर्डले मंगलबार विज्ञप्ति निकालेर शेयर बजार बढेको बेला जोखिमको स्तर पनि बढेकाले सुझबुझपूर्ण तरिकाले लगानी गर्न सुझाव दिएको हो।
प्रवक्ता निरज गिरीद्धारा जारी विज्ञप्तिमा बजारको सिद्धान्तअनुसार सधैं बढ्ने मात्र नभई घट्ने पनि भएकाले लगानीकर्ताहरु सचेत बन्नुपर्ने उल्लेख छ। त्यस्तै, धितोपत्र खरीद सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग वा कम्पनीको हरेक पक्षको अध्ययन गरेर मात्रै लगानी गर्न र लहैलहैमा नलाग्न सचेत गराइएको छ।
बोर्डले वर्तमान आर्थिक परिदृश्य, कम्पनीहरुको प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदि विश्लेषण गरेर मात्रै लगानी गर्न सुझाएको छ।
पछिल्लो समयमा दर्जनौं कम्पनीमा हल्लाको भरमा मूल्य बढाइएपछि बोर्डले त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गरेको हो। कयौं वर्षसम्म लाभांश दिने क्षमता नभएका कम्पनीको मूल्य समेत पछिल्ला महीनामा कयौं गुणाले बढेको छ। त्यसैगरी, बजारमा मिलेमतोमा भइरहेको चलखेलप्रति पनि बोर्डको ध्यानाकृष्ट भएको विज्ञप्तिमा जनाइएको छ।
धितोपत्र बजारमा कारोबार वृद्धिसँगै शेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भएकाे गुनासा प्राप्त भएकाले यस सम्बन्धमा छानबिन शुरु गरिएको र केही समयमा यस्तो चलखेल गर्नेविरुद्ध कारबाही अघि बढाउने जनाइएको छ। पछिल्लो समयमा कयौं शेयर संख्या कम भएका कम्पनीहरुमा कर्नरिङ गर्दै शेयर मूल्य उचालिएको छ।
बजारमा दिनहुँ उछाल आउन थालेपछि नियामक निकायहरुले लगाम कस्ने छनक दिएका छन्। यसअघि, नेपाल राष्ट्र ब्यांकले पनि विभिन्न मौद्रिक उपायमार्फत् बजारको उछाललाई रोक्ने प्रयत्न गरेको थियो। तर, ती प्रयत्नले परिणाम नदिएपछि केन्द्रीय ब्यांकले आगामी मौद्रिक नीतिमार्फत कसिलो नीतिगत प्रबन्ध गर्ने अनुमान गरिएको छ।