छिमेकीबाट साथ होइन, दुर्व्यवहार भोग्दै कोरोना संक्रमित
कैलालीमा कोरोना संक्रमित र मृतकका परिवारले आफन्त, छिमेकीबाट मद्दत होइन, दुर्व्यवहार र अपमान पाइरहेका छन्।
कैलालीको कैलारी गाउँपालिका वडा नं. ८ का ४५ वर्षीया फुलेश्वरी चौधरीको जेठ पहिलो साता कोरोना संक्रमणबाट मृत्यु भयो। यसअघि मृत्यु संस्कारमा सहभागी हुने गाउँले यो पटक कतै देखिएनन्। गाउँलेका साथै आफन्त समेत उनको परिवारलाई ढाडस दिन आँगन टेकेनन्।
फूलेश्वरीका परिवारमा आफन्त गुमाउँदाको पीडा त थियो नै। काजक्रियाको लागि आवश्यक सामान जुटाउँदा समेत दुर्व्यवहार भोग्नुपर्यो। थारु समुदायले आफन्त गुमाएको एक हप्तापछि रोटीपानी (काजक्रिया) गर्छन्। परिवारको लागि चाहिने धान, तेल, पिठो कुटाउन कोही गइदिएनन्। परिवारका सदस्य आफैं जाँदा मिलमा समेत छिर्न पाएनन्।
स्थानीय राजाराम चौधरी फूलेश्वरीका परिवारले निकै अप्ठ्यारोका साथ रोटीपानी टारेको बताउँछन्। उनका अनुसार गाउँबासी, आफन्त कोही नआएपछि फुलेश्वरीको परिवारले मात्रै रोटीपानी गरे। चौधरी भन्छन्, “संक्रमितको नजिक पुगे पो सर्छ भनेर डराउनु, परिवारका सदस्यलाई अपमान गर्न त नहुने हो।”
कैलारी वडा नं. ६ की सुशीला चौधरीको ५ जेठमा मृत्यु भएपछि नेपाली सेनाले लाश व्यवस्थापन गर्यो। तर, गाउँका मान्छे रोटीपानीमा कोही आएनन्। काजक्रियामा सुशीलाको माइती पक्ष मात्रै सहभागी भएको आफन्त प्रेमबहादुर चौधरीले जानकारी दिए।
धनगढी उपमहानगरपालिकाका प्रमुख वड संक्रमित र उसको परिवारलाई सम्मानको दृष्टिले हेर्न अनुरोध गर्छन्। “यो महामारीमा हो, अप्ठ्यारो सबैलाई हुन्छ,” उनी भन्छन्, “तर, संक्रमितबाट सुरक्षित र टाढै बसेर सहयोग गर्न सकिन्छ।”
कैलालीमा करीब डेढ महीनादेखि निषेधाज्ञा छ। निषेधाज्ञाको कारण घर बाहिर निस्कन त्यति सहज छैन। सरकारले पनि भीडभाड नगर्न, अत्यावश्यक काम बाहेक हिँड्डुल नगर्न अनुरोध गरेको छ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड सुरक्षित भएर छरछिमेकीलाई सघाउन र अत्यावश्यक काममा कसैलाई पनि अवरोध नगर्न अनुरोध गर्छन्। “भीडभाड गर्न भएन, अरुबाट टाढै बस्नुपर्यो,” उनी भन्छन्, “त्यसो भन्दैमा मृत्यु संस्कारमा चाहिने सामग्री जुटाउनलाई समेत अवरोध गर्न त पाइएन। यो गलत हो।”
११ जेठमा तल्कोट गाउँपालिकाका ५० वर्षीय संक्रमितलाई त छिमेकी मस्टा गाउँपालिकाबासीले लखेटे नै। एक्लै बस्दै आएका उनी संक्रमण भएपछि आफन्तको साहारा माग्दै मस्टाको रिलु पुगेका थिए। संक्रमित भएको थाहा भएपछि उनलाई गाउँमै छिर्न दिइएन्। ढुङ्गा प्रहार हुन थालेपछि उनी त्यहाँबाट भागे। १३ जेठमा तल्कोट गाउँपालिकाको दाँतोला स्वास्थ्य चौकीको टोलीले उनको उद्धार गरेर आइसोलेसन सेन्टर पुर्यायो।
धनगढी उपमहानगरपालिका २ को एउटा परिवारमा तीन जना संक्रमित भए। ८२ वर्षीया वृद्धाको होम आइसोलेसनमै मृत्यु भयो। छोरा भेन्टिलेटरमा थिए। संक्रमित बुहारी घरमै। प्रहरी र सेनाबीच मुचुल्का बनाउने विषयमा सहमति नहुँदा वृद्धाको शव उठ्नै २४ घण्टा लाग्यो।
परिवारका तीन जनालाई कोरोना देखिएपछि समाजले हेयको दृष्टिले हेर्यो। “घर छेउछाउ कोही आएनन्। आवश्यक सामान ल्याइदिन पनि कोही तयार भएनन्,” ५२ वर्षीया बुहारी भन्छिन्, “सासूको काजक्रियामा सघाउन झन् को आउनु?”
गोदावरी नगरपालिका–२ का ४७ वर्षीय पुरुषमा पनि कोरोना देखिएपछि समाजबाट अपहेलित भएको अनुभव छ। उनीसँगै ३८ वर्षीया श्रीमती, १५ र १३ वर्षका छोराहरुमा पनि कोरोना भएको थियो। “बिरामी हुँदा छिमेकी, आफन्तबाट सान्त्वनाका शब्दको आश हुँदो रहेछ,” उनले भने, “घरमै आउन त मिलेन, तर, अन्य माध्यमबाट ढाडस दिन सकिन्थ्यो होला।”
कोरोनाको दोस्रो लहर शुरु भएसँगै कैलालीमा संक्रमितहरूको संख्या ह्वात्तै बढ्यो, सँगै मृतकको संख्या पनि। यसले दुर्व्यवहारदेखि छिमेकीलाई असहयोगका घटना पनि बढायो। धनगढी उपमहानगरपालिकाका प्रमुख वड संक्रमित र उसको परिवारलाई सम्मानको दृष्टिले हेर्न अनुरोध गर्छन्। “यो महामारीमा हो, अप्ठ्यारो सबैलाई हुन्छ,” उनी भन्छन्, “तर, संक्रमितबाट सुरक्षित र टाढै बसेर सहयोग गर्न सकिन्छ।” खानपान, उपचारदेखि हर प्रकारको अप्ठ्यारोमा नगरपालिकामा खबर गर्न वडको आग्रह पनि छ।