इस्लाम धर्मावलम्बीकाे पर्व रमदान मंगलबारदेखि
इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमदान मंगलबारदेखि शुरु हुने भएको छ ।
एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३ः४३ बजेबाट बेलुका ६ः३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ ।
रमदान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमदान महीना नवौँ महीना हो । रमदान महीनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महीनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।
दान दिनु, गरीब र दीनदुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महीनाको ठूलो विशेषता हो । रमदान व्रत बस्न आज साँझ मुसलमानले चन्द्रमा हेर्न आकाशतिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ ।
विराटनगर सरौचिया निवासी मोहम्मद अजादका अनुसार रमदान महीना हाम्रा लागि निकै महत्वपूर्ण हो र यो पर्वमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।
कुलतमा लागेका मानिस एक महीना इमानदारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अजादको भनाइ छ ।
त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।