के नेपाली मिडिया एकल विचारधाराको बन्दी त बनिरहेको छैन?
विचार र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने त्यही मिडियाले आफ्नो वैचारिक लाइनभन्दा बाहिरको विचारलाई ढिम्किन दिएन भने त्यहाँ पनि हिसाब गडबड हुन्छ। यो आफैंमा दोहोरो मापदण्ड हो। घुमीफिरी गणित उही हुन आउँछ- लोकतन्त्र र बहुलवादको नाममा एकल विचारधाराको पक्षपोषण।
‘म तपाईंको भनाइसँग सहमत छैन। तर, तपाईंको बोल्न पाउने अधिकारको अन्तिम घडीसम्म बचाउ गरिरहनेछु।’
फ्रान्सेली दार्शनिक भोल्तेयर (सन् १६९४-१७७८) को यो भनाइलाई अभिव्यक्ति स्वतन्त्रताका हिमायतीहरूले प्रेमपूर्वक उच्चारण गर्छन्। यसले अभिव्यक्ति स्वतन्त्रताको नाभी ठम्याएको छ। अभिव्यक्ति स्वतन्त्रताको मर्म र धर्मलाई यति गजबसँग प्रतिनिधित्व गर्ने अर्को दमदार भनाइ भेटिन्न।
आफ्नो विचार राख्न र सत्य बोल्न मानव समाजले लामो सङ्घर्ष गर्नुपरेको छ। सत्य बोल्ने आँट गरेकाले नै सुकरात, ग्यालिलियोजस्ता विश्वविख्यात व्यक्तित्वले तत्कालीन सत्ताबाट अनेकौँ यातना भोग्नुपरेको र जीवन बलि चढाउनुपरेको थियो।
सत्य बोल्दा यी वैचारिक शहीदले भोग्नुपरेको यातना र कष्टलाई मनन गरेर नै भोल्तेयरले अभिव्यक्ति स्वतन्त्रताबारे यति उदार धारणा अघि सारेको हुनुपर्छ।
दुनियाँ वैचारिक लडाइँको रणभूमि हो। यहाँ अनेकौँ विचारको लडाइँ जारी छ। दुनियाँमा विचारको प्रतिस्पर्धा छ। वैचारिक प्रतिस्पर्धाले नै विचारलाई बलवान् र तेजिलो बनाउँछ। यसका लागि वैचारिक लडाइँ आवश्यक छ। वैचारिक लडाइँको पनि आफ्नै नियम र आचारसंहिता छ।
वैचारिक लडाइँको मैदानमा विश्वचर्चित बेलायती दार्शनिक जे.एस. मिल (सन् १८०६-१८७३) रेफ्री बनेर उभिए। मिलले सन् १८५९ मा प्रकाशित आफ्नो कृति अन लिबर्टी मा विचारको बजार (मार्केटप्लेस अफ् आइडियाज्) शब्दावली प्रयोगमा ल्याए। मिलले यस शब्दावलीमार्पmत विचार पनि खुल्ला बजारमा राखिएका प्रतिस्पर्धी वस्तुजस्तै हुन् भन्ने धारणा अघि सारे।
विचारको लडाइँमा प्रतिस्पर्धी विचारलाई प्रतिबन्ध लगाएर होइन, बरू त्यसैसँग कडा प्रतिस्पर्धा गरेर विचारको आधिकारिकता वा सत्य पुष्टि गर्न सकिन्छ भन्ने धारणा जे.एस. मिलको छ।
अहिले नेपाली मिडियाको स्वभाव फरक देखिएको छ। कतिपय अवस्थामा त फरकमात्र होइन, अनौठो पनि देखिएको छ। मिडियामा वैचारिक विविधता दुब्लाउँदै गएर एउटामात्र वैचारिक घटकको पृष्ठपोषण हुने गरी समाचार र विचार दिने प्रवृत्ति बढेको छ। निष्पक्ष समाचार र विश्लेषण दिने नैतिक जिम्मेवारी बोकेको मिडिया प्रत्यक्ष वा परोक्ष रूपमा कित्ताकाट गर्न र लक्ष्मणरेखा कोर्नमा प्रवृत्त भएको देखिन्छ।
मिलले विचारको सत्यापन र स्वीकार्यताको परीक्षण प्रतिस्पर्धी विचारसँग प्रतिस्पर्धा गरेर कायम हुन्छ, कसैको विचारलाई प्रतिबन्ध गरेर वा कुनै सरकारी निकाय वा कुनै अधिकारीले आधिकारिकता पुष्टि गरिदिएर हुँदैन भन्ने खरो विचार अघि सारे। उनको विचारलाई सबैले सराहना गरे। उनी विचारको दुनियाँमा वन्दनीय व्यक्ति मानिन्छन्।
विगतमा धर्मगुरुलगायतका समाजका अभिजात्य वर्गले विचार निर्माण गर्थे। अहिले समय बदलियो र विचार निर्माणको प्रक्रिया पनि बदलिँदै गएको छ। विश्वमा आमसञ्चार माध्यमको सूत्रपात भएपछि मिडिया नै वैचारिक अगुवा बनेको छ। यस अर्थमा मिडिया समाजको विचार निर्माता हो।
मिडियाले बाटो बिरायो भने समाज दिग्भ्रमित हुन्छ। त्यसैले, मिडियाले उदात्त भावका साथ समाचार र विचार प्रवाह गर्नुपर्छ भन्ने मान्यता स्थापित छ। मिडियाले सबै प्रतिस्पर्धी विचारलाई यथोचित ठाउँ दिनुपर्छ भन्ने मान्यता पनि स्थापित तथ्य नै हो। त्यसमा पनि अखबारको विचार पृष्ठ त विचार र बहसको खुल्लामञ्च बन्नुपर्छ। यो पत्रकारिताको आचारसंहिताभित्रै पर्छ।
अहिले नेपाली मिडियाको स्वभाव फरक देखिएको छ। कतिपय अवस्थामा त फरकमात्र होइन, अनौठो पनि देखिएको छ। मिडियामा वैचारिक विविधता दुब्लाउँदै गएर एउटामात्र वैचारिक घटकको पृष्ठपोषण हुने गरी समाचार र विचार दिने प्रवृत्ति बढेको छ। निष्पक्ष समाचार र विश्लेषण दिने नैतिक जिम्मेवारी बोकेको मिडिया प्रत्यक्ष वा परोक्ष रूपमा कित्ताकाट गर्न र लक्ष्मणरेखा कोर्नमा प्रवृत्त भएको देखिन्छ। यसबाट वैचारिक विविधता सङ्कटमा पर्ने खतरा देखिएको छ।
'इको च्याम्बर' मिडिया
हाम्रा मिडियाले देखाएको व्यवहारमा एकपक्षीय विचार प्रवाहमा उद्यत् हुने ‘इको च्याम्बर मिडिया’ को प्रतिविम्ब देखिएको छ। हाम्रा लागि इको च्याम्बर उतिविधि परिचित शब्दावली नहुनसक्छ। विज्ञहरूका अनुसार ‘इको च्याम्बर’ एउटा यस्तो परिवेश हो, जहाँ व्यक्तिले आफ्नो धारणासँग मिल्ने विचारलाई मात्र स्थान दिन्छ। यसले अन्ततः एकपक्षीय विचारलाई पृष्ठपोषण गर्छ र विरोधी मतलाई स्थान दिँदैन।
अर्को शब्दमा, आफू अनुकूलको विचारलाई उच्च प्राथमिकता दिने र इतर विचारलाई निषेध गर्ने मिडिया नै ‘इको च्याम्बर मिडिया’ हो। यसले एकल विचारधाराको प्रतिनिधित्व गर्छ र त्यसलाई बरोबर सगौरव दोहोर्याइरहन्छ।
एकैखालको वृत्तान्त र दृष्टिकोणलाई निर्विकल्प ठानेर बारम्बार दोहोर्याइरहँदा समाजमा सही विचार निर्माण हुन पाउँदैन र समाज एकल विचारधाराको बन्दी बन्न पुग्छ। मिडिया निश्चित राजनीतिक स्वार्थ र दृष्टिकोणभन्दा बाहिर जान नसक्दा समाजले अप्रत्यक्ष रूपमा वैचारिक क्षति व्यहोर्नुपर्छ। यस्तो प्रवृत्तिले खुल्ला विचारलाई बाटो बन्द गरिदिन्छ।
‘इको च्याम्बर’ शब्दावली अमेरिकी इन्टरनेट अभियन्ता इलाइ प्यारिसरले पहिलो पटक प्रयोगमा ल्याएका हुन्। प्यारिसरको शोधले गुगल, फेसबूकजस्ता इन्टरनेट प्ल्याटफर्मले पर्याप्त मात्रामा आफ्नो व्यापारिक स्वार्थ अनुकूलका सामग्रीलाई स्थान दिन्छन् भने स्वार्थ बाझिने विचारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निषेध गर्छन् भन्ने देखाएको छ। उनले यस्तो अवस्थालाई जनाउन ‘इको च्याम्बर’ भन्ने विम्ब प्रयोगमा ल्याएका हुन्।
अमेरिकाबाट निस्कने बहुविषयक जर्नल पीएनएस मा स्प्रेडिङ मिस्इन्फर्मेसन अनलाइन शीर्षकमा प्रकाशित शोधमूलक लेखमा अनलाइन मिडियाले समान रुचि भएका र पूर्वाग्रह, पृथकता र ध्रुबीकरणलाई प्रश्रय दिने समुदायलाई एकठ्ठ गर्छ भन्ने निष्कर्ष निकालेको छ। कतिपय अवस्थामा यसले पाठकलाई वास्तविकताबाट टाढिन सहयोग गर्छ भन्नेबारे पनि लेखले सचेत गराएको छ।
यहाँ, अनलाइन माध्यमको मात्र कुरा आए पनि छापा माध्यममा पनि यस्तै प्रवृत्ति देखापरेको छ। बेलायती अखबार द गार्डियन मा प्रकाशित एक लेखमा ‘इको च्याम्बर’ले पाठकलाई सही दिशा पनि देखाउँदैन र समाजलाई विभाजित तुल्याउँछ, जुन धेरै अर्थमा घातक छ भन्ने आशय व्यक्त गरेको छ।
आजकल मिडियामा विचार प्रवाहको नाममा तिक्ततापूर्ण अभिव्यक्तिले ठाउँ पाउन थालेको छ। यस्तो अभिव्यक्तिले समाजमा प्रतिशोध र वैरभाव जन्माउँछ। यहाँनेर, अर्को कुरा पनि राखिहालौँ-पत्रकारिताको काम कडा भाषामा समस्यामात्र देखाउने नभई नरम भाषामा समस्या समाधानको उपाय पनि सुझाउनु हो।
यही पृष्ठभूमिमा पश्चिमी गोलाद्र्धमा समाधान पत्रकारिता को अवधारणा आइसकेको छ। यसले पत्रकारिताको लेखाइ तथा प्रस्तुतीकरण घोचपेच र तिक्ततापूर्ण अभिव्यक्तिबाट मुक्त हुनुपर्छ भन्ने मान्यता राख्छ। अर्को कुरा, तिक्ततापूर्ण अभिव्यक्तिबाट नयाँ पुस्ताले असल कुरा होइन, बैरभाव सिक्छ, जुन सामाजिक सौहार्दताका लागि घातक हुन्छ।
आजकल मिडियामा विचार प्रवाहको नाममा तिक्ततापूर्ण अभिव्यक्तिले ठाउँ पाउन थालेको छ। यस्तो अभिव्यक्तिले समाजमा प्रतिशोध र वैरभाव जन्माउँछ। यहाँनेर, अर्को कुरा पनि राखिहालौँ-पत्रकारिताको काम कडा भाषामा समस्यामात्र देखाउने नभई नरम भाषामा समस्या समाधानको उपाय पनि सुझाउनु हो।
अरूको कमजोरी देख्ने मिडियाले आफ्नो कमजोरी देख्नु पनि उसको कुलधर्मभित्रै पर्छ। सरकारका कुनै मन्त्रीले अनियन्त्रित अभिव्यक्तिबारे सोच्न आवश्यक भन्ने राय व्यक्त गर्ने बित्तिकै ‘विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने सङ्केत’ शीर्षक दिएर मिडियाले समाचार दिन्छन्, दिनु पनि पर्छ। तर, विचार र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने त्यही मिडियाले आफ्नो वैचारिक लाइनभन्दा बाहिरको विचारलाई ढिम्किन दिएन भने त्यहाँ पनि हिसाब गडबड हुन्छ। यो आफैंमा दोहोरो मापदण्ड हो। घुमीफिरी गणित उही हुन आउँछ- लोकतन्त्र र बहुलवादको नाममा एकल विचारधाराको पक्षपोषण।
‘इको च्याम्बर मिडिया’कै झल्को दिने यस्तो व्यवहारले हामीलाई सोचाइको साँघुरो दायराभित्र कैद गरिदिन्छ। यसले निषेधपूर्ण परिवेश निर्माण गर्छ र उदात्त समाजका लागि आवश्यक पर्ने उदात्त विचारलाई चकनाचुर पारिदिन्छ।
हामी विचार ग्रहण गर्ने कुरामा उदार हुनैपर्छ। द गार्डियन मा प्रकाशित पूर्वउल्लिखित लेखले भन्छ- सबुतले प्रमाणित गर्छ भने आफूले विश्वास गरिआएको धारणा पनि बदल्न सक्नुपर्छ, तर यो सजिलो काम होइन। यसको सीधा सन्देश हो- विचारको बजारमा अनावश्यक किसिमले चट्टानी अडान लिएर बस्नु व्यक्ति र समाज दुवैका लागि हितकर हुँदैन।
वैचारिक विविधता लोकतन्त्रको प्राण हो। समग्र चराचरका लागि जैविक विविधता जति महत्वपूर्ण छ, लोकतान्त्रिक मूल्य–मान्यता प्रष्फुटनका लागि वैचारिक विविधता पनि उत्तिकै महत्वपूर्ण छ। असल समाज निर्माण गर्ने हो भने भोल्तेयरको जस्तो उदारमना विचार आत्मसात गर्नुको विकल्प छैन।
वैचारिक विविधताले नयाँ विचार, नवीन चिन्तन र समावेशी संस्कृति निर्माणमा निर्णायक भूमिका निर्वाह गर्छ। यस्तो कार्यमा मिडिया चुक्नुहुँदैन। आखिर, मिडियाको भूमिका भनेको सही सूचना सम्प्रेषण गरेर अनावश्यक वैचारिक ध्रुबीकरण र मूढाग्रहबाट नागरिकलाई जोगाउनु नै हो।
(दुरा पत्रकारिता तथा आमसञ्चारका विषयका विद्यार्थी हुन्।)