सुदूरपश्चिमका मुख्यमन्त्रीलाई एमाले र कांग्रेसले विश्वासको मत दिने
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा (एमाले) र नेपाली कांग्रेसले विश्वासको मत दिने भएका छन्।
एमाले प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको हो। त्यस्तै, कांग्रेसले पनि आवश्यक परेमा विश्वासको मत दिने निर्णय गरेको छ।
केहीबेर अघि बसेको एमाले संसदीय दलको बैठकले बहुमतबाट निर्णय गरेको हो। एमाले संसदीय दलमा माधवकुमार नेपाल पक्षको बहुमत छ। बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदले भने विश्वासको मत दिन नहुने बताएका थिए।
सुदूरपश्चिम संसदीय दलमा नेपाल पक्षका १७ र ओली पक्षका ७ सांसद छन्। एक जना सभामुख रहेका छन्।
त्यस्तै, कांग्रेस संसदीय दलको बैठकले पनि आवश्यक परेमा भट्टलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक टेकबहादुर रैकाले बताए। “आवश्यक परेमा विश्वासको मत दिन्छौं, आवश्यक नपरेमा टठस्थ बस्छौं,” रैकाले भने। प्रदेश सभामा कांग्रेसका १२ सांसद छन्।
सुदूरपश्चिम प्रदेश सभामा माओवादीका १३ सांसद छन्। विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ। एमालेको नेपाल पक्षका सांसदले मत दिए मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्न सक्नेछन्।