के हो राजेन्द्र महतोले भनेको ‘बहुल राष्ट्रिय राज्य’?
जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा उपप्रधानमन्त्री बनेकै दिन ‘बहुल राष्ट्रिय राज्य’को अभिव्यक्ति दिएपछि विवादमा परेका छन्।
‘देशमा एउटा वैकल्पिक शक्ति निर्माण गर्ने, अधिकार पहिचान, सुशासन र समृद्धिको सवाल, बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने, यी कामहरू पार्टीको अजेण्डा हो। पार्टीको त्यो अजेण्डा पनि अगाडि बढाउँदै जाने र विगतका आन्दोलनका माग मुद्दालाई पनि सम्बोधन गर्दै लैजाने, त्यसका लागि हामी सरकारमा सहभागी भएका छौं।’
२१ जेठमा उपप्रधान तथा शहरी विकास मन्त्रीको रुपमा कार्यभार सम्हाल्ने क्रममा दिएको यो अभिव्यक्तिका कारण जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतो विवादमा परे। यो अभिव्यक्ति ‘राष्ट्रिय हित र अखण्डता’ विरोधी भएको भन्दै महतोको पुत्ला दहनदेखि विज्ञप्तिहरू जारी गर्ने र सामाजिक सञ्जालमा तीव्र आलोचना ओइरिनेसम्मका प्रतिक्रिया देखिए।
तर, महतोले यो शब्द पहिलो पटक प्रयोग गरेका भने होइनन्। १० वैशाख २०७७ मा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा)बीच एकीकरण हुँदाको सहमतिपत्रमा पनि ‘...बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवाद, सामाजिक न्याय, समृद्धि, बहुसांस्कृतिक राष्ट्रवादको विकास गर्न जरुरी छ’ भनिएको छ। दुई पार्टी मिलेर जनता समाजवादी पार्टी (जसपा) बनाउने सहमतिपत्रमा हस्ताक्षर गर्ने आठ जनामध्ये महतो एक थिए।
महतोको पछिल्लो अभिव्यक्ति, १० वैशाख २०७७ को सहमतिपत्र र साविक राजपाले जलेश्वरमा सार्वजनिक गरेको घोषणापत्रमा प्रयोग भएको शब्द हेर्दा उनले यो विषय गहिरो गरी बुझेको भन्ने आधार छैन। किनभने तीन वटै सन्दर्भमा ‘बहुलराष्ट्रिय राज्य’ ‘बहुराष्ट्रिय राज्य’ र ‘बहुराष्ट्रिय देश’ भन्ने शब्द प्रयोग भएको छ। यी शब्दहरूको चयन गर्दा देश, राज्य, राष्ट्र, मुलुक आदिको प्रष्ट अर्थ नबुझी समानार्थी शब्दको रूपमा लिएको भन्न सकिन्छ।
१४ वैशाख २०७७ मा ‘बहुराष्ट्रिय राज्य’ शब्द संविधान विपरीत भएको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघसम्बद्ध अमित लामा र अधिवक्ता विपिन ढकालले निर्वाचन आयोगमा उजुरी दिएका थिए।
जसपा बन्नुअघि महतोसहित ६ जना अध्यक्ष रहेको राजपाको घोषणापत्रमा ‘बहुराष्ट्रिय देश’ भन्ने उल्लेख छ। ७ मंसीर २०७४ मा महोत्तरीको जलेश्वरमा सार्वजनिक राजपाको घोषणापत्रमा भनिएको छ, ‘नेपाल एक बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुराष्ट्रिय देश हो।”
महतोको पछिल्लो अभिव्यक्ति, १० वैशाख २०७७ को सहमतिपत्र र साविक राजपाले जलेश्वरमा सार्वजनिक गरेको घोषणापत्रमा प्रयोग भएको शब्द हेर्दा उनले यो विषय गहिरो गरी बुझेको भन्ने आधार छैन। किनभने तीन वटै सन्दर्भमा ‘बहुलराष्ट्रिय राज्य’ ‘बहुराष्ट्रिय राज्य’ र ‘बहुराष्ट्रिय देश’ भन्ने शब्द प्रयोग भएको छ। यी शब्दहरूको चयन गर्दा देश, राज्य, राष्ट्र, मुलुक आदिको प्रष्ट अर्थ नबुझी समानार्थी शब्दको रूपमा लिएको भन्न सकिन्छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशमा ‘राज्य’ को तीन वटा अर्थ दिइएका छन्। पहिलो– कुनै राजा वा शासनसत्ताका अधीनमा रहेको देशः मुलुक, राष्ट्र, दोस्रो– कुनै ठूलो राष्ट्रअन्तर्गत स्वायत्त शासनको अधिकार पाएको भाग वा प्रदेश र तेस्रो– राजाको काम, रजाइँ, शासन।
राज्यको यो अर्थ ‘भू–क्षेत्रीय सीमा, वैधता र हिंसामाथिको एकाधिकार’ भन्ने राजनीतिशास्त्रीहरूको परिभाषासँग मिल्दोजुल्दो देखिन्छ।
राजपाले आफ्नो घोषणापत्रमा ‘राष्ट्र’ को व्याख्या गरेको छ। “नेपालको दक्षिणतिरको समथर भूमिमा बस्ने मधेशी, थारु, दलित, जनजाति र मुस्लिम शतप्रतिशत नेपाली हुन्,” घोषणापत्रको प्रस्तावनामा भनिएको छ, “तर ती सामूहिक रूपमा आफैंमा एक राष्ट्र पनि हो, जसको निश्चित भूगोल, समान जीवनपद्धति, संस्कृति, सभ्यता एवं मनोविज्ञान छ।”
कतिपय राजनीतिशास्त्रीहरूले देशभित्रै बस्ने अरु समुदायभन्दा सामाजिक, सांस्कृतिक र ऐतिहासिक रूपमा पृथक् सामाजिक समूहलाई राष्ट्र (नेसन) भन्ने गरेको पाइन्छ। राजपाको घोषणापत्रमा उल्लिखित व्याख्या एक दशकअघि इक्वेडरका पूर्वराष्ट्रपति रफायल कोरियाले भन्ने गरेको ‘बहुलराष्ट्रवाद (प्लुरिनेसनालिज्म)’ सँग मिल्दोजुल्दो देखिन्छ। “बहुलराष्ट्रवादको अर्थ बृहत् इक्वेडर राज्यमा कैयन् फरक राष्ट्रियताहरू सहअस्तित्वमा छन् भनेर स्वीकार गर्नु हो, जुन यो मुलुकमा स्पष्ट देखिन्छ र हरेकलाई उही अवसरहरू हुनुपर्छ” रफायलले भनेका छन्।
नेकपा (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल पक्षका १५ स्थायी समिति सदस्यहरूले भने महतोको भनाइ संविधान विपरीत रहेको निष्कर्ष निकालेको छ। महतोको अभिव्यक्ति संविधानको धारा ३ मा उल्लिखित ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता राष्ट्र हो’ भन्ने संवैधानिक व्यवस्थाविरुद्ध भएको उनीहरूको ठहर छ।
२२ जेठमा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “उपप्रधानमन्त्रीको संविधानविरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्पष्ट गर्न माग गर्दछौं।”
चौतर्फी आलोचना भएपछि अन्ततः महतोले २२ जेठमा विज्ञप्ति निकाली आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लाग्ने गरी प्रचार गरिएको भन्दै आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए।
बहुल राष्ट्रिय राज्यको अर्थ
महतोको अभिव्यक्तिलाई नेपाललाई धेरै वटा देशमा टुक्र्याउने आशय लुकेको भन्ने शंका र बुझाइसहित चर्को विरोध आइरहेको छ। तर, प्राध्यापक लोकराज बराल सैद्धान्तिक रूपमा हेर्दा महतोको शब्द त्यति आपत्तिजनक नभएको बताउँछन्।
“उनले मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम सबैलाई समान अधिकार हुनुपर्छ भन्ने हिसाबले बोलेको हो जस्तो लाग्छ,” बराल भन्छन्।
हुन पनि, महतोले प्रयोग गरेका शब्दहरूलाई सामान्य रूपमा धेरै वटा राष्ट्र बनाउने अर्थ लगाइए पनि यिनको प्राज्ञिक अर्थ केलाउँदा त्यस्तो हुँदैन। बहुल राष्ट्रिय राज्यले नेपाली समाज बहुल भाषा, धर्म, जाति, संस्कृतिको साझा घर रहेकाले सबैलाई समान अधिकार र अवसर हुनुपर्ने मर्म बोक्छ।
नेपाली बृहत् शब्दकोशमा ‘राष्ट्र’का दुई वटा अर्थ छन्। पहिलो, निश्चित भौगोलिक सिमाना भएको जनता, सरकार तथा सार्वभौमसत्ता सम्पन्न कुनै देश, मुलुक। दोस्रो, एकै देशका एउटै संस्कृति तथा अर्थव्यवस्थामा आबद्ध समस्त नागरिक, जनता।
यस अर्थमा बहुल राष्ट्रिय राज्यले विविध भाषा, धर्म, संस्कृतिका नागरिकको राज्य बुझाउने भयो।
राष्ट्र र राज्यको अवधारणालाई गहन व्याख्याको आश्यकता रहेको राजनीतिशास्त्रीहरू बताउँछन्। संसारका विभिन्न देशमा ‘मल्टिनेसनल स्टेट’को अवधारणा छ। जस्तै, भारतमा जातलाई ‘नेसनालिटिज’ भनिन्छ। भारतको दाजीर्लिङमा बस्ने नेपालीहरू ‘नेपाली राष्ट्र’ हुन्। त्यहाँ ‘नेपाली राष्ट्रियता’ले भारतकै नेपाली भाषी भन्ने बुझाउँछ। ‘भारत देश’को सरकारी कामकाजको भाषा ‘हिन्दी र अंग्रेजी’ हो भने ‘महाराष्ट्र’को सरकारी कामकाजको भाषा ‘मराठी’ हो।
तर जहाँ एकै धर्म जहाँ एकै धर्म संस्कृतिका मान्छेहरू हुन्छन् त्यहाँ ‘एकल सांस्कृतिक राष्ट्रवाद’ हुन्छ। जस्तो, पाकिस्तान मुस्लिम राष्ट्र पनि हो, मुस्लिम राज्य पनि हो। त्यस्तै इजरायल, यहुदी राज्य पनि हो, यहुदी राष्ट्र पनि हो।
राजनीतिक व्यक्तिले बोलेको हुनाले महतोको अभिव्यक्तिले धेरै चर्चा पाएको बरालको बुझाइ छ। “मेरो विचारमा प्राज्ञिक रूपमा उनको अभिव्यक्ति आपत्तिजनक होइन,” बराल भन्छन्, “तर सन्दर्भको हिसाबले यो अभिव्यक्ति सही समयमा आएको भने पक्कै होइन।’