प्रदेश-२ सरकारमा सहभागी हुँदै कांग्रेस
नेपाली कांग्रेसले प्रदेश-२ सरकारमा सहभागी हुन छलफल अघि बढाएको छ।
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले महन्थ ठाकुर पक्षका मन्त्रीहरूलाई पदमुक्त गरेसँगै कांग्रेसले जसपाको उपेन्द्र यादव पक्षसँग छलफल गरेको हो।
जसपा यादव पक्ष र कांग्रेसबीच सोमबार जनकपुरमा बसेको बैठकमा कुनै निश्कर्ष भने निस्किएन। मंगलबार पुनः बस्ने गरी बैठक सकिएको कांग्रेस प्रदेश-२ संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिए।
आफूहरूले मुख्यमन्त्री दाबी गरेको तर जसपाले अस्वीकार गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए। उनले भने, “उहाँहरूको सांसद संख्या धेरै भएकाले मुख्यमन्त्री नपाए पनि सरकारमा जान्छौं।”
ती सांसदका अनुसार कांग्रेसले यो विषयमा निर्णय गर्ने अधिकार संसदीय दलका नेता यादवलाई दिइएको छ।
मुख्यमन्त्री लालबाबु राउतले आइतबार ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई पदमुक्त गरेका छन्। गत शुक्रबार मात्रै उनी जसपा प्रदेश–२ संसदीय दलको नेता चयन भएका छन्।
जसपा अध्यक्ष यादवले शुक्रबार जनकपुर पुग्नुअघि कांग्रेस उपसभापति विमलेन्द्र निधीलाई भेटेर प्रदेश–२ सरकारमा आउन आग्रह गरेका थिए।
प्रदेश–२ काे प्रदेश सभामा जसपाका ५५, नेकपा (एमाले)का २१, नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन्।