पाकिस्तानमा दुईवटा रेल जुध्दा ३० जनाको मृत्यु
पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुध्दा भएको दुर्घटनामा ३० जना यात्रुको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका छन्। मिल्लात एक्सप्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना यात्रु फसेका बताइएको छ।
सिन्ध प्रान्तको घोट्की जिल्लाका प्रहरी प्रमुख उमर टुफैलले डब्बाभित्र थुनिएका व्यक्तिहरू उद्धारका लागि चिच्याएको सुनिएको बताउँदै ठूला मेसिनको सहायताले भग्नावशेष पन्छाउने प्रयास भइरहेको जानकारी दिए।
मिल्लात एक्सप्रेस रेल आफ्नो लिकबाट बाहिरिएसँगै सर सइद एक्सप्रेस रेलले ठोक्किएको घोटकीका उपआयुक्त उस्मान अब्दुल्लाहले बताए। उनले मिल्लात रेल कसरी लिकबाहिर उछिट्टियो भन्ने बारे अनुसन्धान शुरू भएको जानकारी दिए।
अब्दुल्लाहले पछिल्लो विवरण अनुसार कम्तीमा ३० जनाको मृत्यु भएको बताए। रेलवे अधिकारीहरूका अनुसार दुवै रेलमा गरी करीब एक हजार १०० यात्रु सवार थिए। घाइते कतिपय यात्रुको स्वास्थ्य अवस्था निकै नाजूक रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूको भनाइ छ। (एपी)