प्रधानन्यायाधीश जबरालाई ‘बिसन्चो’ भएपछि आज संवैधानिक इजलास नबस्ने
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘बिसन्चो’ भएपछि आज सर्वोच्च अदालतको संवैधानिक इजलास नबस्ने भएको छ।
सर्वोच्च अदालतका कर्मचारीहरूले प्रधानन्यायाधीश जबरालाई बिसन्चो भएको जानकारी संवैधानिक इजलासका अन्य न्यायाधीशहरूलाई दिएका छन्। उनीहरूले चारै जना न्यायाधीशलाई आज संवैधानिक इजलास पनि नबस्ने जानकारी गराएका छन्।
आइतबार प्रधानन्यायीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वपरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहितको संवैधानिक इजलास गठन गरेका थिए।
संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय कार्की र भट्टराईका विषयमा सरकारी पक्षले प्रश्न उठाएको थियो। महान्यायाधीवक्त रमेश वडालसहितका सरकारी पक्षका कानून व्यवसायीले न्यायाधीशद्वय कार्की र भट्टराई संवैधानिक इजलासबाट अलग हुनुपर्ने माग गरेका थिए।
कार्की र भट्टराई संवैधानिक इजलासमा बस्दा निष्पक्षता कायम हुनेमा विश्वास नभएको सरकारी पक्षका कानून व्यवसायीको भनाइ थियो। जसले गर्दा आइतबार दिनभर यहि विवादमा बहस भएको थियो।
सरकारी पक्षका कानून व्यवसायीको भनाइमा रिट निवेदक पक्षका कानून व्यवसायीले प्रतिबाद गरेका थिए। उनीहरूले कार्यपालिकाले न्यायपालिकाको हुर्मत लिएको बताएका थिए।
आइतबार न्यायाधीशको विषयमै विवाद भएपछि प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ हुन सकेको थिएन्। प्रधानन्यायाधीश जबराले आजका लागि पेशी तोकेका थिए।
तर, आज प्रधानन्यायाधीश जबरालाई ‘बिसन्चो’ भएको जनाउँदै सर्वोच्च अदालतका कर्मचारीले बाँकी चार जना न्यायाधीशलाई आज संवैधानिक इजलास नबस्ने जानकारी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरी कात्तिक र मंसिरमा मध्यावाधि चुनाव घोषणा गरेकी थिइन्। त्यसका विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए।
१४६ जना सांसदसँगै बिभिन्न कानून व्यवसायीले ३० वटा रिट दायर गरेका छन्। जसमध्ये २६ रिटमा प्रतिनिधि सभा पुनःस्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नका लागि अन्तरिम आदेश माग गरिएको छ भने चार रिटमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि अन्तरिम आदेश माग गरिएको छ।