नेपाल समूहकाे माग सम्बोधन गर्न ओली तयार, पार्टी एकताका लागि आह्वान
एमाले एकता बचाउने प्रयास स्वरुप दोस्रो तहका नेताहरुबीच भएको समझदारी अनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे प्रतिबद्धता सहित पार्टी एकताका लागि आह्वान गरेका छन्।
ओली ३ जेठ २०७५ को अवस्थाबाट एमालेलाई अगाडि बढाउन तयार भएका छन्। ओलीले पार्टी एकताका पक्षमा उभिएका नेताहरुलाई आधार मानेर स्थायी र केन्द्रीय कमिटीका संरचना गतिशील हुने बताएका छन्।
ओलीले आह्वान गरेको प्रतिबद्धता पत्रमा २३ फागुन २०७७ मा सर्वोच्च अदालतले नेकपा विघटन गरेर एमाले र माओवादी व्यूँताएपछि माधव नेपाल समूहले उठाउँदै आएका मागहरुलाई सम्बोधन गरिएको छ।
त्यसैगरी पार्टी कमिटी र जनसंगठनहरु ३ जेठ २०७५ को पूर्वअवस्थामा क्रियाशिल हुने, संगठनात्मक क्षेत्रका निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखापर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने उल्लेख गरिएको छ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा पेश भएका हस्ताक्षर फिर्ता गर्नुपर्ने पनि एमाले अध्यक्ष ओलीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी पार्टीका नेताहरुबाट यसबीचमा भएका गल्ती कमजोरीहरुलाई लिएर कुनै कारबाही नगरिने समेत प्रतिबद्धता जनाइएको छ ।
एमालेबाट निष्काशित भएका माधव नेपालले एकताको सम्भावना टर्दै गएको र नयाँ पार्टी गठनको विकल्प नभएको भन्दै विज्ञप्ति जारी गरेकै दिन अध्यक्ष ओलीले पार्टी एकताका लागि भन्दै यसअघि माधव नेपाल समूहले उठाउँदै आउको मागहरुलाई समेटेर पाँच बुँदे प्रतिवद्धता जारी गरेका हुन् ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेताहरुको समझदारी अनुरुप नै अध्यक्ष ओलीबाट पार्टी एकताका निम्ति आह्वान सहितको वक्तव्य आएको बताए ।
ओलीको वक्तव्य योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल लगायत नेताहरुसँग भएको अनौपचारिक वार्ताको समझदारी अनुसार आएको बताइएको छ ।