महामारीप्रति ओली सरकारको असंवेदनशीलताको प्रमाण : एक वर्षमै तीन स्वास्थ्यमन्त्री
महामारीको समयमा स्वास्थ्य मन्त्रालयलाई बलियो र स्थिर बनाउनुपर्ने बेला प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरू फेर्याफेर्यै छन्।
कोरोना सङ्क्रमणको दोस्रो लहरले देश दुई महिनादेखि आहत छ। सङ्क्रमितले अझै सजिलोसँग बेड र अक्सिजन पाएका छैनन्। निषेधाज्ञाको डेढ महीना हुन लागिसक्दा पनि दिनहुँ पाँच हजारभन्दा बढी सङ्क्रमित थपिइरहेका छन्। मृतकको सङ्ख्या पनि १०० आसपास नै छ।
यस्तो बेला नागरिकको स्वास्थ्य रक्षाको लागि दिनरात लाग्नुपर्ने स्वास्थ्य मन्त्रालय भने नयाँ–नयाँ मन्त्री पाइरहेको छ। पछिल्लो पटक निषेधाज्ञाकै बीच २१ जेठमा एमाले सांसद् शेरबहादुर तामाङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिए। यसअघि १० पुस २०७७ मा हृदयेश त्रिपाठी र ४ मङ्सीर २०७६ मा भानुभक्त ढकाल स्वास्थ्यमन्त्री भएका थिए। यसरी १० माघ २०७६ मा नेपालमा पहिलो कोरोना भाइरस सङ्क्रमित पत्ता लागेयता मात्र स्वास्थ्य मन्त्रालयमा तीन मन्त्री पुगेका छन्। ओली सरकार गठन भएयताकै हिसाब गर्ने हो भने स्वास्थ्यमा पाँच मन्त्री फेरिइसकेका छन्।
प्रधानमन्त्री ओलीले मन्त्रालयमा छिटोछिटो मन्त्री फेरेका उनीहरूको काम हेरेर होइन, सत्तामा टिक्ने सन्तुलन मिलाउन हो। स्थिर सरकारको नारामा प्रतिनिधिसभा निर्वाचन जितेर झण्डै दुई तिहाइको समर्थनसहित करीब साढे तीन वर्षअघि सत्तामा आएका ओलीले सत्तास्वार्थबाटै निर्देशित भएर पटक–पटक मन्त्रिपरिषदमा हेरफेर गरेका र आफ्नो सरकार अल्पमतको हुँदै कामचलाउमा परिणत हुँदासमेत त्यसो गर्न छाडेका छैनन्। पछिल्लो पटक उनले जनता समाजवादी पार्टीको एउटा गूटसँग अस्वाभाविक सत्ता गठबन्धन गर्दै २१ जेठमा मन्त्रिपरिषदमा ठूलो हेरफेर गरेका छन्।
महामारीमा समेत स्थिर हुन नसकेको स्वास्थ्य मन्त्रालयमा ओलीले सरकारको नेतृत्व गरेका केही समयपछि २ चैत २०७४ मा पद्मा अर्याललाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए। अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेको १४ महीनापछि १८ जेठ २०७५ मा तत्कालीन संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री भएर स्वास्थ्य मन्त्रालयको बागडोर सम्हाल्न आइपुगे। ४ मङ्सीर २०७६ सम्म मन्त्रालयको नेतृत्व गरेका यादवले यसबीच स्वास्थ्यमा उल्लेखनीय केही गर्न नसके पनि १८ पटक विदेश भ्रमणको रेकर्ड बनाएका थिए। विदेशमै (भारत) भएका बेला प्रधानमन्त्री ओलीले उनलाई स्वास्थ्य मन्त्रालयबाट कानून मन्त्रालयमा लगेका थिए।
स्थिर सरकारको नारामा प्रतिनिधिसभा निर्वाचन जितेर झण्डै दुई तिहाइको समर्थनसहित करीब साढे तीन वर्षअघि सत्तामा आएका ओलीले सत्तास्वार्थबाटै निर्देशित भएर पटक–पटक मन्त्रिपरिषदमा हेरफेर गरेका र आफ्नो सरकार अल्पमतको हुँदै कामचलाउमा परिणत हुँदासमेत त्यसो गर्न छाडेका छैनन्।
त्यसपछि ओलीले आफ्ना विश्वासपात्र भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाए। महामारीकालमा झण्डै एक वर्ष स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेका ढकालमाथि महामारी नियन्त्रणमा पूरै असफल भएको मात्र होइन, स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार गरेको, स्वास्थ्य उपकरण खरीदको जिम्मा मिलेमतोमा ओम्नी भन्ने एउटा व्यापारी समूहलाई दिएको आरोप लाग्यो। उनीविरुद्ध अख्तियारमा परेको उजुरीमाथि समेत छानबिन र कारबाही भएको छैन। गत पुसमा भएको मन्त्रिपरिषद् हेरफेरमा उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका थिए।
स्वास्थ्यमन्त्री हुँदा कोरोनाको दोस्रो लहरको सामना गरेका त्रिपाठीको कार्यकाल पनि खासै सुखद रहेन। उनले अक्सिजन आपूर्ति सहज गर्न नसकेको, समयमा खोपको लागि पहल नगरेको र खोप ल्याउन बिचौलियाले नदिएको भन्दै पन्छिन खोजेको देखियो। सिनियर डाक्टरले कोरोना सङ्क्रमितको उपचार गरेनन् भन्ने अभिव्यक्तिले पनि उनी आलोचित भए।
मन्त्री फेरिरहने सरकारको कार्यशैलीले मन्त्रालय कमजोर बन्ने र त्यसको असर नागरिकको स्वास्थ्यमा पर्ने पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल बताउँछन्। “एउटा मन्त्रीलाई ६–७ महीना त मन्त्रालयको संरचनाबारे बुझ्नै लाग्छ,” उनी भन्छन्, “जनताको स्वास्थ्य प्रत्यक्ष जोडिएको र गाउँगाउँसम्म संरचना भएको ठूलो मन्त्रालयमा अस्थिरताले झन् प्रभाव पर्छ।” सरकारको यही अस्थिर तरिकाले महामारी नियन्त्रणमा असर परेको उनको बुझाइ छ।
पूर्वसचिव एवं प्रशासनविद् भोजराज पोखरेल पनि नेतृत्व परिवर्तनले काम कारबाहीको गतिमा असर पर्ने बताउँछन्। “हाम्रा सरकारी निकायमा संस्थागत प्रणाली र पद्धतिको विकास भएको छैन,” उनी भन्छन्, “नेतृत्वको सीप र उसको तरिकाले चल्ने भएकोले अस्थिरताको असर कामकारबाहीमा पर्छ।”
तीन वर्ष, सात सचिव
प्रधानमन्त्री ओलीले सरकारको बागडोर सम्हालेपछि स्वास्थ्यमन्त्री मात्रै होइन, स्थायी सरकारको रूपमा चिनिने प्रशासनिक नेतृत्व पनि उत्तिकै फेरिएका छन्। स्वास्थ्य मन्त्रालयमा मात्रै तीन वर्षमा सात जना सचिव फेरिएका छन्।
प्रधानमन्त्री भएको नौ महीनापछि १७ मंसीर २०७५ ओलीले स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालय सरुवा गरेर केदारबहादुर अधिकारीलाई स्वास्थ्य सचिव बनाए। त्यसको दुई महीना नपुग्दै अधिकारीको सरुवा भयो र चन्द्रकुमार घिमिरे स्वास्थ्य सचिव बने। घिमिरेको पनि तीन महीनामै सरुवा भयो र रामप्रसाद थपलियाले जिम्मेवारी पाए। थपलिया पनि चार महीना मात्रै स्वास्थ्य सचिव हुन पाए ।
थपलियापछि खगराज बरालले ६ महीना स्वास्थ्य सचिवको रूपमा काम गरे र त्यसपछि यादव कोइरालाले जिम्मेवारी पाए। कोइराला स्वास्थ्य सचिव हुँदा कर्मचारीसँग झगडा गरेको, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनलाई स्पष्टीकरण सोधेको र मन्त्रालय तान्न खाजेको विषयले उनको आलोचना भएको थियो। कोइराला पनि तीन महिनामै स्वास्थ्य सचिवबाट सरुवा भए। १५ जेठ २०७७ देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लक्ष्मण अर्याल स्वास्थ्य सचिवको पदमा कार्यरत छन्।
प्रधानमन्त्री ओलीले सरकारको बागडोर सम्हालेपछि स्वास्थ्यमन्त्री मात्रै होइन, स्थायी सरकारको रूपमा चिनिने प्रशासनिक नेतृत्व पनि उत्तिकै फेरिएका छन्। स्वास्थ्य मन्त्रालयमा मात्रै तीन वर्षमा सात जना सचिव फेरिएका छन्।
पूर्वस्वास्थ्यमन्त्री पोखरेल अरू मन्त्रालयमा जे गरे पनि अहिलेको अवस्थामा स्वास्थ्य मन्त्रालय नचलाएको भए हुने बताउँछन्। “कुनै पनि मन्त्रालय र निकाय अस्थिर हुनु ठीक होइन,” उनी भन्छन्, “झन् यस्तो संवेदनशील समयमा मन्त्रालयको नेतृत्व हेरफेर नगरेकै भए हुन्थ्यो।”
नेतृत्व परिवर्तनले मातहतका कर्मचारीमा अन्योल सिर्जना हुने र मनोबल कमजोर बनाउने पूर्वसचिव पोखरेलको भनाइ छ। उनी भन्छन्, “नीति निर्माण तहको नेतृत्वलाई केही समय काम देखाउने अवसर दिनुपर्छ।” त्यसो हुँदा नेतृत्वकर्तालाई अन्याय नहुने र त्यसको प्रभाव सेवा प्रवाहमा पनि पर्ने उनको भनाइ छ।