'वान एक्स वेट'माथि सरकारले लगायो प्रतिबन्ध
डिजिटल प्लेटफर्ममार्फत् अवैध जुवामा लगानी गर्न आग्रह गर्ने ‘वान एक्स वेट’ लाई सरकारले प्रतिबन्ध लगाएको छ।
सञ्चार मन्त्रालय अन्तर्गतको विज्ञापन बोर्डले आइतबार यस्तो कार्य विज्ञापन नियमन ऐन विपरीत भएको भन्दै डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गरेको हो।
'वान एक्स वेट'ले गरेको कार्य विज्ञापन नियमन ऐन, २०७६ को दफा ५ को उपदफा (१) को खण्ड (ख) को व्यवस्था विपरीत भएको बोर्डले बताएको छ।
बोर्डले 'वान एक्स वेट'का गतिविधि बन्द गर्न, डिजिटल प्लेटफर्ममा राखिएका विज्ञापन तथा प्रमोशनल भिडियो हटाउन पनि निर्देशन दिएको छ।
'वान एक्स वेट'ले विभिन्न खेलको पूर्वानुमान गर्न आग्रह गर्दै डिजिटल प्लेटफर्ममार्फत् जुवामा लगानी गर्न लगाउँथ्यो।
चर्चित कलाकारहरूले समेत आफ्नो प्रोमो कोड प्रयोग गर्न अनुरोध गर्दै भिडियोहरू बनाउँदै आएका थिए।