बाँदरमुढे घटनाका दोषीलाई कारबाही गर्न माग
एड्भोकेसी फोरम र जवाफदेहिता निगरानी समितिले बाँदरमुढे घटनाकाे दोषीलाई कारबाहीको माग गरेका छन्।
घटना भएको १६ वर्ष पुग्दासमेत पीडितहरूले न्याय नपाएको भन्दै दुवै संस्थाले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन्।
संयुक्त विज्ञप्ति जारी गर्दै दुई संस्थाले पीडितहरूका आवश्यकतालाई तत्काल सम्बोधन गर्न र न्याय तथा पर्याप्त परिपूरण पाउने पीडितको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन्। विज्ञप्तिमा न्याय नपाइकनै ६ जना पीडितको मृत्यु भइसकेको उल्लेख गरिएको छ।
बाँदरमुढे घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानूनको गम्भीर उल्लंघन भएको एड्भोकेसी फोरम र जवाफदेहिता निगरानी समितिले बताएका छन्।
२३ जेठ २०६२ मा माओवादी कार्यकर्ताले सर्वसाधारण नागरिक चढेको बसमा विस्फोट गराउँदा ३५ जना सर्वसाधारण र ड्युटीमा नरहेका तीनजना सुरक्षाकर्मीको मृत्यु भएको थियो। घटनामा ७० भन्दा बढी व्यक्ति घाइते भएका थिए।
घटनालगत्तै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले क्षमायाचना गर्दै सार्वजनिक माफी मागेका थिए र घटनाको अनुसन्धान गर्ने तथा संलग्न रहेका व्यक्तिलाई दण्ड दिने प्रतिवद्धता व्यक्त गरेका थिए।
दाहालले चितवन भ्रमणको क्रममा पटक–पटक पीडितहरूलाई क्षतिपूर्तिका अन्य उपायसहित स्वास्थ्योपचार तथा रोजगारीको अवसर उपलब्ध गराउने प्रतिज्ञा समेत गर्दै आएका छन्।