कांग्रेसको सहभागितामा कर्णाली मन्त्रिपरिषद् हेरफेर, यस्तो छ मन्त्रीको सूची
नेपाली कांग्रेस सरकारमा आएपछि आइतबार कर्णाली मन्त्रिपरिषद् हेरफेर गरिएको छ। यससँगै कांग्रेस र नेकपा (माओवादी केन्द्र)को सत्ता साझेदारी शुरू भएको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आइतबार बिहान मन्त्रिपरिषद् हेरफेर र कार्यविभाज गरेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम प्रदेश प्रमुखले नियुक्त, हेरफेर र कार्यविभाजन गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले जनाएका छन्।
आज भएको हेरफेर अनुसार महेन्द्रबहादुर शाही मुख्यमन्त्री, नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, अम्मरबहादुर थापा भौतकि पूर्वाधार तथा शहरी विकासमन्त्री र कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन्।
त्यस्तै, सीताकुमारी नेपाली आन्तरिक मामिला तथा कानूनमन्त्री, गोपाल शर्मा आर्थिक मामिला तथा योजनामन्त्री, दीनबन्धु श्रेष्ठ जलस्रोत तथा उर्जा विकासमन्त्री र यज्ञबहादुर बीसी सामाजिक विकासमन्त्री नियुक्त भएका छन्।
जलस्रोतमन्त्री श्रेष्ठ र सामाजिक विकासमन्त्री बीसी कांग्रेसबाट नियुक्त भएका हुन्। मुख्यमन्त्री शाहीसहित अन्य ६ मन्त्री नेकपा (माओवादी केन्द्र)का हुन्।
नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि कांग्रेस सरकारमा सहभागी भएको हो।
नेकपा विभाजनपछि सातै प्रदेशमा सरकार फेरबदलको चर्चा शुरू भएको थियो। कर्णालीबाट कांग्रेस-माओवादीले सत्ता साझेदारीकाे शुरूआत गरेका छन्।