जनमोर्चाले सांसदबाट हटाएका थापाको रिटमा सुनुवाइ हुँदै
गण्डकी प्रदेश सभाका जनमोर्चाका सांसद् कृष्ण थापालाई पदमुक्त गर्ने निर्णय विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ।
यो मुद्दा सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको छ। रिटमा थापाले आफूलाई पदमुक्त गर्ने जनमोर्चाको निर्णय र त्यसलाई कार्यान्वयन गर्ने प्रदेश सभा सचिवालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। त्यसमा जनमोर्चाको पनि समर्थन रहेको थियो।
तर, पार्टीको निर्देशन विपरीत थापाले मुख्यमन्त्री गुरुङलाई सहयोग गरेका थिए। पार्टी निर्णय विपरीत काम गरेको भन्दै जनमोर्चाले थापालाई प्रदेश सभा सदस्यबाट हटाएको थियो।
त्यसका विरुद्ध थापा सर्वोच्च अदालत पुगेका हुन्। उनले शुक्रबार दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।