कोरोना संक्रमित वरिष्ठ गायक श्रेष्ठ खतरामुक्त, सरकारको बेवास्ता!
कोरोनाभाइरसकाे संक्रमणका कारण अस्पताल भर्ना भएका वरिष्ठ गायक दीप श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ।
उनकी पत्नी सोफिया गुरुङले शनिबार दिउँसो हिमालखबरसँग कुरा गर्दै गायक श्रेष्ठको अवस्थामा धेरै सुधार भएको र डिस्चार्जबारे छलफल चलिरहेको बताइन्। “पहिलेभन्दा श्वासप्रश्वास र खानपिनमा पनि धेरै सुधार भएको छ,” गुरुङले भनिन्, “अब अस्पतालबाट कहिले डिस्चार्ज गर्ने भनेर डाक्टरहरू छलफल गरिरहनुभएको छ।”
उच्चरक्तचाप र श्वासप्रश्वास सम्बन्धी समस्याका कारण १३ जेठमा धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका ७० वर्षीय गायक श्रेष्ठमा जाँचका क्रममा कोभिड–१९ संक्रमण पाइएको थियो। त्यसपछि आईसीयूमा राखेर उपचार थालिएको थियो।
गायक श्रेष्ठका मित्र समेत रहेका लेखक वसन्त थापाले पनि श्रेष्ठको स्वास्थ्यमा अपेक्षित सुधार भइरहेको जानकारी गराएका छन्। “मेरा एसएमएसहरूका जवाफमा उनले आफूलाई आराम महसूस भइरहेको र शरीरमा अक्सिजनको मात्रा पनि ठीक हुन थालेको लेखेका छन्,” थापाले भने।
आफ्ना प्रिय गायकलाई कोरोना संक्रमण भएको थाहा पाएपछि थुप्रै समर्थकले सामाजिक सञ्जालहरूमा उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आएका छन्।
तर, देशकै निधि यी वरिष्ठ गायक सिकिस्त भइरहँदा पनि सरकार र नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानले कुनै चासो नदेखाएको श्रेष्ठका एक सहकर्मीको गुनासो छ। “उहाँको स्वास्थ्यबारे सामान्य चासो, चिन्ता समेत व्यक्त गरिएको पाइएन, कुनै सरसहयोग त परै जाओस्,” उनले भने ।
समर्थक र शुभेच्छुककाे मायाले आत्मविश्वास बढाएकाे उनकी पत्नी गुरुङले बताएकी छिन्। “धन्न, भगवान्ले हामी सबैका प्रार्थना सुनेका छन्,” गायिका समेत रहेकी गुरुङले भनिन्।