प्रदेश मन्त्री बनाउन कांग्रेसले पठायो दुई जनाको नाम
कर्णाली प्रदेश सरकारमा मन्त्री नियुक्त गर्न नेपाली कांग्रेसले दुई जना सांसदको नाम पठाएको छ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले शनिबार सुर्खेतका यज्ञबहादुर बीसी र जुम्लाका दिनबन्धु श्रेष्ठको नाम पठाएका हुन्। मुख्मयन्त्री महेन्द्रबहादुर शाहीलाई नाम दिएको कांग्रेस संसदीय दलका नेता शाहीले बताए। “मन्त्री नियुक्त गर्नका लागि दुई जना सांसदको नाम सिफारिश गरेको छु,” शाहीले हिमालखबरसँग भने।
कर्णाली सरकारमा कांग्रेसको तर्फबाट बीसीले सामाजिक विकास मन्त्रालय र श्रेष्ठले जलस्रोत तथा उर्जा विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।
शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले बीसी र श्रेष्ठको नाम टुंगो लगाएको थियो। संसदीय दलको निर्णय अनुसार आज नाम बुझाइएको हो।
मुख्यमन्त्री शाहीले बीसी र श्रेष्ठलाई आजै मन्त्री नियुक्त गर्न लागेका छन्। उनीहरूलाई आइतबार पद तथा गोपनीयताको शपथ खुवाइने जनाएको छ।
नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीलाई कांग्रेसले साथ दिएको थियो। नेकपा (माओवादी केन्द्र)को संसदीय दलका नेता शाही २०७४ मा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।