थप हवाई आक्रमण गर्न नेतान्याहुको आदेश
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार गाजा पट्टिका आतङ्ककारीलक्षित थप हवाई आक्रमण गर्न सेनालाई आदेश दिएका छन् ।
गाजा पट्टिबाट इजरायलतर्फ भएको रकेट प्रहारको प्रतिक्रिया स्वरुप सो आदेश दिइएको बताइएको छ ।
गाजा पट्टिमा रहेका आतङ्ककारीतर्फ भीषण रुपमा हवाई आक्रमण गर्ने नेतान्याहुले मन्त्रिमण्डलको छलफलको शुरुमा नै बताएका थिए ।
शनिबारबाट गाजातर्फबाट हमास समूहले ४ सय ५० भन्दा बढी रकेट आक्रमण गरेको इजरायलको दाबी रहेको छ ।
यता गाजाका अधिकारीहरुले इजरायलले गरेको हवाई आक्रमणमा दुई आतङ्ककारीसहित छजनाको मृत्यु भएको समाचार दिएका छन् ।
हवाई आक्रमणमा गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनी गाजाका अधिकारीहरुले गरेकाे दाबीको इजरायली सेनाले अस्वीकार गरेको छ । हमास समूहले गरेको गोली प्रहारमा उनीहरुको मृत्यु भएकाे इजरायली सेनाको दाबी रहेको छ ।
गाजाको सीमा इलाकामा पर्ने इजरायलको आसकेलोन सहरमा गाजातर्फबाट रातभर भएको रकेट आक्रमणमा परी ५८ वर्षीय एक इजरायली नागरिकको मृत्यु भएको इजरायली प्रहरीले जानकारी दिएको छ ।