बिर्सिइने छैनन् उज्ज्वल !
महात्मा गान्धी भन्ने गर्नुहुन्थ्यो, 'मेरो जीवन नै मेरो सन्देश हो।' राजनीतिमा साध्य मात्र नभएर साधनको पनि शुद्धता, रचनात्मकता, अहिंसा र भाइचारा उज्ज्वलको जीवनको सन्देश हो।
दोस्रो जनआन्दोलनयताका संक्रमणकालीन दिनहरूमा झिना मसिना निहुँ र मागमा बन्द, हडताल जस्ता प्रतिरोधका कार्यक्रम भइरहन्थे। गाडीले कुखुरा किचिदिँदा होस् वा अन्य निहुँमा राजमार्ग अवरूद्ध भएका खबर आइरहन्थे।
यस्ता हडताल राजनीतिक माग भन्दा पनि मानिसका दमित असन्तोषलाई लिएर ज्यादा हुने गर्दथे। तर, कारण राजनीतिक होस् वा अन्य, बन्द हडतालका तौरतरिका भने एकै हुने गर्थ्यो। ढुङ्गा-मुढा, टायर र पुतला दहन, सवारी साधन तोडफोड र आगजनी। बन्दका दिन सडक चोकमा सवारी साधन रोक्न उच्छृङ्खल दस्ता ड्युटीमा रहन्थ्यो। हिंसा एक प्रकारले नेपाली चरित्र बनिसकेको थियो। किनकि, दशक लामो सशस्त्र द्वन्द्वबाट माओवादी बिस्तारै शान्ति प्रक्रियातर्फ बढिरहेकाले उसमा युद्धको धङधङी बाँकी नै थियो। उता माओवादीका हिंसात्मक विद्रोहलाई महिमामण्डित गर्ने जमातको पनि कुनै कमी थिएन।
समाज नराम्ररी विभाजित र बिथोलिएको त्यस समयमा बन्द-हडतालका दिन युवाहरूको एउटा शालीन जमात काठमाडौं माइतीघरमा राष्ट्रिय र बहुजातीय पोशाकमा सजिएर राष्ट्रिय ध्वजासहित 'नेपाल खुला छ' लेखिएको प्लाकार्डका साथ उभिएको देखिन्थ्यो। धेरैका आँखा ती शालीन र अहिंस्रक प्रतिरोधी जमातमा परे पनि उनीहरू को हुन् वा त्यसको अगुवाइ कसले गरिरहेका छन् भन्ने धेरैलाई थाहै थिएन ।
भादगाउँले टोपीधारी उज्ज्वल मूलधारको ब्रोडसिट अखबारभन्दा पनि अनलाइनमा लेखमार्फत विचार प्रकट गरिरहन्थे। आफ्नै ब्लगमार्फत युवा र वैकल्पिक राजनीतिमा रूझान भएकाहरूसँग विचार विमर्श गरिरहेका हुन्थे।
त्यो शालीन जमात समयक्रममा अन्य गतिविधिमा समेत संलग्न हुन थालेपछि मानिसमा उनीहरूप्रति चासो त बढ्यो नै, उनीहरूका उद्देश्य पनि एकपछि अर्को खुल्दै गए। कहिले उनीहरू बाढीले आक्रान्त मधेशमा खाद्यान्न लगायतका सामान जुटाउँदै मल्हम लगाउन पुग्थे त कहिले महाभूकम्पका घाइतेहरूका 'फर्स्ट रेस्पोन्डेन्ट' बन्दै आकस्मिक सेवामा जुट्थे। संविधानसभाको निर्वाचनतिर त उनीहरू एउटा राजनीतिक दलको हैसियतमा राजधानी काठमाडौंसहित केही शहरी क्षेत्रमा भोट माग्दै घर दैलोसम्मै आइपुगे।
यसबीचमा आमजनले ती डफ्फाबारे शनै शनै जानकारी पाउँदै गए। शहरी, मध्यमवर्गीय, शिक्षित र उद्यमशील युवाहरू निर्मित विवेकशील भनिने त्यस समूह पारम्परिकभन्दा पनि रचनात्मक विधिबाट देशमा वैकल्पिक राजनीतिक अभियान निम्ति उद्यत रहेछ। र, त्यस समूहको अगुवा अमेरिकामा सूचना प्रविधि अध्ययन गरेर देशका लागि केही गरौं भन्ने हुटहुटी लिएर फर्केका बूढानीलकण्ठ स्कूलका पूर्व विद्यार्थी काठमाडौंका उज्ज्वल थापा रहेछन्। भादगाउँले टोपीधारी उज्ज्वल मूलधारको ब्रोडसिट अखबारभन्दा पनि अनलाइनमा लेखमार्फत विचार प्रकट गरिरहन्थे। आफ्नै ब्लगमार्फत युवा र वैकल्पिक राजनीतिमा रूझान भएकाहरूसँग विचार विमर्श गरिरहेका हुन्थे।
विवेकशीलले अगुवाइ गरेका प्रतिरोधात्मक र्यालीमा उनी प्लाकार्ड बोकेर वा छातीमा नारा टाँसेर सरिक हुन्थे। समूहका नेताभन्दा पनि जुलुशमा सरिक हुनेमध्येको एक अनुहार मात्र रहन रुचाउने उनमा कोणसभामा भाषण दिने, मिडियासँग गफिने वा सेल्फी खिचाउने रुचि कहिल्यै देखिएन।
'अकुपाइ बालुवाटार' र डाक्टर गोविन्द केसीको 'स्वास्थ्यमा सबैको पहुँच'को सत्याग्रहको अग्रमोर्चामा विवेकशील देखा पर्यो। अख्तियार दुरूपयोग अनुसन्धान आयोग (अदुअआ) का तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोगसहितको मागसहित डा. केसीको सत्याग्रह विवेकशीलको यात्रामा यस्तो कोशेढुङ्गा रह्यो, जसले स्वास्थ्य प्रणालीको माफियाकरण विरूद्ध र विधिको शासनको पक्षमा रहेका सबैलाई तरङ्गित गर्यो।
मेडिकल माफिया र लोकमानविरूद्धको आन्दोलनताका उज्ज्वल थापा उही माइतीघर मण्डलमा भेटिए। आन्दोलनको खाका कोर्ने सिलसिलामा उनीसँग त्रिवि शिक्षण अस्पताल परिसरको डा. केसीको क्वाटरमा पनि भेट हुन्थ्यो। एउटा ऊर्जाशील युवा जमातका अगुवा उज्ज्वलको व्यक्तित्व उनीप्रतिको पूर्वधारणाभन्दा बिल्कुलै विपरीत थियो।
उज्ज्वल मृदुसँगसँगै अल्पभाषी थिए। त्यसैले उनीसँग क्षमकुशल सोध्नेभन्दा बढी कहिल्यै गफगाफ भएन। विवेकशीलले अगुवाइ गरेका प्रतिरोधात्मक र्यालीमा उनी प्लाकार्ड बोकेर वा छातीमा नारा टाँसेर सरिक हुन्थे। समूहका नेताभन्दा पनि जुलुशमा सरिक हुनेमध्येको एक अनुहार मात्र रहन रुचाउने उनमा कोणसभामा भाषण दिने, मिडियासँग गफिने वा सेल्फी खिचाउने रुचि कहिल्यै देखिएन।
डा. केसीको आन्दोलनले विवेकशीललाई राम्रो सामाजिक पूँजी दिलाइदियो। एउटा समाजिक अभियान हुँदै विवेकशील वैकल्पिक राजनीतिको भाष्यसहित मूलधारको राजनीतिमा होमियो। उनको नेतृत्वको विवेकशील रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग एकाकार भएपछि उनी एकीकृत विवेकशील साझा पार्टीका सह-अध्यक्ष पनि बने। तर विपर्यास कस्तो भने, पार्टी मूलधारको राजनीतिमा हेलिँदै गर्दा उज्ज्वल स्वयंले भने स्वेच्छिक किनाराको मार्ग रोजे।
डा. केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेको वेला मैले उज्ज्वललाई 'तपाईंको मुख्यालय अहिले कता छ?' भनेर सोधेको थिएँ। जर्ज मेलोरीलाई 'तपाईं किन सगरमाथा चढ्न चाहनुहुन्छ?' भन्ने प्रश्नको उत्तर झैं सडक देखाउँदै उज्ज्वलले भनेका थिए, 'यही हो हाम्रो पार्टी अफिस।'
नेपालका दलहरूको मौलिक चरित्र, दल फुट्ने र जुट्ने क्रिया-प्रक्रियामा विवेकशील साझा पनि अपवाद रहेन। विवेकशील साझाबाट पुन: विवेकशीलमा फर्किएपछि विवेकशीलको हालत अंश गुमाएको परिवारको सदस्य जस्तै थियो। पार्टीको ललितपुरस्थित मुख्यालय साझाको अंशमा परेपछि विवेकशील कार्यालयविहीन भएको थियो।
डा. केसीको अविराम सत्याग्रहमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेको वेला मैले उज्ज्वललाई 'तपाईंको मुख्यालय अहिले कता छ?' भनेर सोधेको थिएँ। जर्ज मेलोरीलाई 'तपाईं किन सगरमाथा चढ्न चाहनुहुन्छ?' भन्ने प्रश्नको उत्तर झैं सडक देखाउँदै उज्ज्वलले भनेका थिए, 'यही हो हाम्रो पार्टी अफिस।'
खबरदारी र पहरेदारी
हामीले ठूलो मूल्य चुकाएर लोकतन्त्र ल्याएका हौं। तर, लोकतन्त्रबाट मूल्यलाई विच्छेद नगर्न अथवा मूल्यको राजनीति बचाइराख्न अर्को मूल्य पनि चुकाउनुपर्छ। अमेरिकी राष्ट्रपति थमस जेफरसनले भनेका छन्, 'इटर्नल भिजिलेन्स इज द प्राइस अफ लिबर्टी' अर्थात् 'स्वातन्त्रताको मूल्य निरन्तर पहरेदारी हो।' यदि स्वतन्त्रता बचाइराख्ने हो र लोकतन्त्ररूपी चलायमान रेललाई मूल्यको लिकबाट चिप्लिन नदिने हो भने नागरिकले पनि यसको पहरेदारी गर्न जरूरी छ।
सामान्यत: हामी राजनीतिलाई सत्तासँग जोडिदिन्छौं। तर, राजनीति र सत्ता पर्यायवाची होइनन्। बिल्कुलै फरक वस्तु हुन्। राजनीतिको बृहत् क्यानभासभित्र सत्ता कतै अटाएको हुनसक्छ। तर, सत्ताभित्र राजनीति नरहन पनि सक्छ।
सबै नागरिकलाई राजनीतिप्रति चासो नहुन सक्छ। तर, शिक्षित र सचेत नागरिक राजनीति निरपेक्ष रहनु भनेको राजनीति गर्नेहरूलाई मनोमानीको मौका दिनु हो। राजनीति गर्नेहरूलाई ठीक पार्न राजनीति नै गर्न जरूरी छैन। यद्यपि कसैले दूषित राजनीतिको मुहान सफा गर्ने अठोट र सामर्थ्य राख्छ भने त्यो त युगान्तकारी काम नै हुने भयो ।
तर, बहुसंख्यक जनसंख्या आज के खाने र भोलिको लागि के जोहो गर्ने भनेर अनिश्चिततामा समय गुजार्दै गरेको हाम्रो जस्तो मुलुकका शिक्षित र तुलनात्मक सुविधासम्पन्न युवा वर्गलाई यस्तो निरपेक्षताको छूट रहँदैन। 'राजनीति केवल राजनीति गर्नेहरूका लागि मात्र छाडिनु हुन्न' भन्ने बहुचर्चित भनाइ झैं कम्तीमा पनि यो वर्गले लोकतन्त्र र स्वतन्त्रताको पहरेदारी गर्दै शासकलाई खबरदारी गर्न छाड्नु हुँदैन।
सामान्यत: हामी राजनीतिलाई सत्तासँग जोडिदिन्छौं। तर, राजनीति र सत्ता पर्यायवाची होइनन्। बिल्कुलै फरक वस्तु हुन्। राजनीतिको बृहत् क्यानभासभित्र सत्ता कतै अटाएको हुनसक्छ। तर, सत्ताभित्र राजनीति नरहन पनि सक्छ। यसलाई व्याख्या भन्दा पनि दृष्टान्तबाट पुष्टि गर्न सकिन्छ।
महात्मा गान्धीले आत्मसात गरेको अहिंसात्मक आन्दोलनले भारतलाई बेलायती उपनिवेशबाट मुक्त गर्यो । तर, गान्धीले स्वतन्त्र भारतको प्रमुख कार्यकारी पद अस्विकार गरे। बरू आफ्ना अनुयायीहरू सत्ता राजनीतिको रस्साकस्सीमा मूल्य र निष्ठाबाट च्यूत त हुँदैनन् भन्दै लोकपाल (गार्जियन एन्जेल) रहिरहन रूचाए। गान्धी झैं स्वतन्त्रता आन्दोलनका हस्तीहरू आचार्य नरेन्द्र देव, विनोवा भावे, जयप्रकाश नारायण, राममनोहर लोहिया आदिले अवसरका बावजूद पनि सत्ताभन्दा सिद्धान्तलाई महत्त्व दिए। सत्ता बाहिरैबाट उनीहरूले मूल्यको वकालत गरे, सीमान्तकृत र भुइँमान्छेका सरोकार बुलन्द पारिरहे।
उज्ज्वलको विरासत
लाग्छ, जीवनमा प्रयोग गरिरहने उज्ज्वल थापाका लागि राजनीति पनि एक प्रयोग थियो। कोभिड-१९ संक्रमित भएर गत १८ जेठमा महाप्रस्थान गरेका उज्ज्वल बेहोशीको अवस्थामा पुग्नुअघिसम्म शारीरिक र मानसिक रुपमा सक्रिय थिए। १२ जेठ १२ को बुद्ध पूर्णिमाका दिन मात्र पनि 'ह्याप्पी बर्थ डे बुद्ध' भन्दै सामाजिक सञ्जालमार्फत उनले मार्मिक सन्देश प्रेषित गरेका थिए।
धेरैका निम्ति राजनीति कमाइखाने भाँडो भएको परिप्रेक्ष्यमा उज्ज्वल राजनीतिमार्फत देशबाट लिन होइन, बरू केही न केही दिनका लागि प्रेरित गरिरहन्थे। त्यसैले राजनीति गर्ने व्यक्ति आत्मनिर्भर र उद्यमशील हुनुपर्छ भन्ने उनको मान्यता थियो र त्यसको उदाहरण उनी स्वयं थिए।
उज्ज्वल संसदीय निर्वाचनमा पनि उत्रिए। तर, जुन वर्गका लागि उनी अनवरत लागिपरेका थिए र जुन पृष्ठभूमिकाबाट उनी आएका थिए, त्यही वर्गले उनलाई पत्याएन। उनको ध्येय चुनावमार्फत सत्तामा पुग्ने थिएन भन्ने कुरा पुन: एकीकृत विवेकशील साझामा विवेकशील पक्षमा अर्का जुझारू युवालाई उनले आफ्नो स्थान छाडेबाट प्रष्ट हुन्छ।
उज्ज्वलको उद्देश्य राजनीतिको शुद्धीकरण थियो। जालझेल, तिकडम, अशिष्ट र हिंस्रक राजनीतिक दाउपेचभन्दा रचनात्मकता थियो। त्यसैले उनी शिक्षित र सचेत युवा वर्गलाई राजनीतिप्रति आमसरोकारका मुद्दामा हस्तक्षेप गर्न उद्वेलित गरिरहन्थे। धेरैका निम्ति राजनीति कमाइखाने भाँडो भएको परिप्रेक्ष्यमा उनी राजनीतिमार्फत देशबाट लिन होइन, बरू केही न केही दिनका लागि प्रेरित गरिरहन्थे। त्यसैले राजनीति गर्ने व्यक्ति आत्मनिर्भर र उद्यमशील हुनुपर्छ भन्ने उनको मान्यता थियो र त्यसको उदाहरण उनी स्वयं थिए।
महात्मा गान्धी भन्ने गर्नुहुन्थ्यो, 'मेरो जीवन नै मेरो सन्देश हो।' राजनीतिमा साध्य मात्र नभएर साधनको पनि शुद्धता, रचनात्मकता, अहिंसा र भाइचारा उज्ज्वलको जीवनको सन्देश हो। कुनै पदमा पुगेर 'सफल' (सक्सेसफुल) हुनुभन्दा पनि सारपूर्ण (मिनिङफुल) जीवन बाँच्न उनले रूचाए। व्यक्तिको ख्यातिभन्दा पनि उदेश्यको महत्त्वमाथि जोड दिए। राजनीतिज्ञभन्दा अभियन्ताको भूमिका रूचाए।
राजनीतिको किनारा रूचाउँदा रूचाउँदै पनि उज्ज्वल सबै नेपालीको मनमा बस्न सफल हुनु पछाडिको कारण यही हो। उनको रचनात्मकता, पहरेदारी र राष्ट्रप्रतिको जिम्मेवारीबोध चीरकालसम्म सम्झिइरहनेछ।