ढुङ्गा, गिट्टी निकासीको निर्णय फिर्ता गर्न नागरिक समाजको आग्रह
जागरुक नागरिक समाजले ढुङ्गा, गिट्टी, बालुवा निकासीको निर्णय फिर्ता लिन सरकारसमक्ष आग्रह गरेको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै ३८ नागरिकले आगामी आर्थिक वर्षको बजेटमा समेटिएको उक्त निर्णय फिर्ता गर्न माग गरेका हुन्।
ढुङ्गा, गिट्टी, बालुवाको निकासीले चुरेभावरलगायत तराईमा पानीको स्रोत सुक्ने, बाढीपहिरो आउने, खडेरी बढ्नेलगायत समस्या देखिन सक्ने उनीहरूले बताएका छन्।
“देशको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्तो राष्ट्रिय महत्वको निर्णय कामचलाउ सरकारले लिने होइन,” विज्ञप्तिमा भनिएको छ, “मनोमानी ढंगले सरकारले लिएको यस्तो निर्णयमा गलत आशय मात्र होइन्, भ्रष्ट मानसिकता पनि देखिन्छ। त्यसैले यो निर्णय तुरुन्त फिर्ता लिइयोस्।”
विज्ञप्तिमार्फत् ढुङ्गा, गिट्टी, बालुवाजस्ता प्राकृतिक स्रोतको प्रयोग पर्याप्त छलफल र होसियारीका साथ मात्र गर्न सरकारलाई सचेत पनि गराइएको छ।
विज्ञप्तिमा अभियन्ता जगन्नाथ लामिछाने, प्रा. हेमराज पन्त, वातावरण संरक्षण अभियन्ता आनन्द मिश्र, कलाकार खगेन्द्र लामिछाने लगायतले हस्ताक्षर गरेका छन्।
त्यस्तै, गणेश विक, प्रदीप परियार, प्रकाश थारु, शारदा चन्द, वसन्ती चौधरी, गीरधारी सुवेदी, श्याम साह, आकांक्षा झा, फुलमहम्मद मियाँ, सिकेन्द्र पासवान, नितु पोखरेल लगायतको हस्ताक्षर छ।