मन्त्रिपरिषद् पुनर्गठन हुँदै, ८ बजे शपथ
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका छन्।
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका १० मन्त्रीसहित प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन्। उनले केही मन्त्रीलाई हेरफेर पनि गर्न लागेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
नयाँ नियुक्त हुने १० मन्त्रीलाई आजै राति ८ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराइने भएको छ। शपथका लागि तयारी गर्न राष्ट्रिपति कार्यालयमा जानकारी पठाइएको बालुवाटार स्रोतले जनाएको छ।
जसपाबाट जसपाबाट आठ मन्त्री र दुई राज्यमन्त्री बन्न लागेका हुन्। जसपा अध्यक्ष ठाकुरले मन्त्री बन्ने १० जनाको नाम प्रधानमन्त्री ओलीलाई बुझाएको जसपा नेता लक्ष्मणलाल कर्णले बताए।
जसपाबाट मन्त्रीका लागि राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, बिमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र इकवाल मियाँको नाम पठाइएको स्रोतले जनाएको छ। पूर्वमन्त्री महतोलाई उप–प्रधानमन्त्री समेत बनाउन प्रस्ताव गरिएको जनाइएको छ।
त्यस्तै, जसपाबाट रेणुका गुरुङ र चन्द्रकान्त चौधरीलाई राज्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ।
यससँगै प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई बिदाइ गर्न लागेका छन्। केही मन्त्रीको भने जिम्मेवारी हेरफेर हुने जनाइएको छ।