नरहरीबुटीले निको पार्दैन कोरोना, के हो ज्यानमारा ‘साइटाेकिन्स आँधी’?
कोभिड-१९ बाट निधन हुनेमा ‘साइटोकिन्स स्टोर्म’ कारक भएको तथ्य सामु हुँदाहुँदै बिरामीलाई नरहरीबुटी सेवन गरेर निको हुन्छ भन्नु प्रधानमन्त्री ओलीले बेसार पानी, मरिच, अम्बाको पातले कोरोनाबाट बच्न सकिन्छ भने जस्तै हो।
कोभिड–१९ फैलिएदेखि सामाजिक सञ्जाल र मिडियामा ‘नरहरीबुटी’को चर्चा भइरहेको छ । यसको शुरूआत परम्परागत औषधोपचारमा लागेका पूर्व पत्रकार प्रेम कैदी (प्रेमबहादुर शाही)ले गरेका हुन्। यसको सेवन धेरैजसो रोग र स्वास्थ्य समस्यामा उपयोगी हुने जानकारी योगी नरहरीनाथबाट पाएको कैदी बताउँछन्।
कोभिड–१९ का बिरामीलाई यही वनस्पतिका पात र मुण्टा सेवन गर्न दिँदा निको भएकाले यसको नाम ‘नरहरीबुटी’ राखिएको हो भन्ने उनको भनाइ छ।
यो वनस्पति औषधिजन्य भएपनि अहिलेसम्म कोभिड–१९ को उपचारमा यसको उपादेयता प्रमाणित भएको छैन। फ्लोरा अफ चाइना भोल्युम–५ (पृष्ठ ३७७, सन् २००३) अनुसार, चीनका विभिन्न प्रान्तलगायत ताइवानमा औषधिका निम्ति यसको खेती भने गरिन्छ।
यो वनस्पतिको वैज्ञानिक नाम ‘डिस्फानिया एम्ब्रोेजिओइड्स’ हो । तर, ललितपुरको गोदावरीस्थित वन मन्त्रालयको नेशनल हर्बेरियम एण्ड प्लाण्ट ल्याबोरेटरीले सन् २०१२ मा प्रकाशित क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्टस् भोल्युम–३ मा यसलाई ‘चिनोपोडियम एम्ब्रोजिओइड्स’ भनिएको छ। चिनोपोडियम बेथु वा बेथे साग जातिको वनस्पति हो।
चिनोपोडियम एम्ब्रोजिओइड्स नामकरण सन् १७५३ मा स्वीडिस वैज्ञानिक कार्ल लिन्नियसले गरेका हुन्। प्रजाति जनाउने शब्द ‘स्पेसिस् इपिथेट’ चाहिँ ‘एम्ब्रोसिया’ मान्दै यसको ल्याटिनीकरण गरेर चिनोपोडियम एम्ब्रोजिओइड्स नाम दिए । ग्रीक भाषामा एम्ब्रोसियाको अर्थ ‘अमृतजस्तो’ भन्ने लाग्छ। सम्भवतः यो वनस्पति यूरोपमा पहिल्यैदेखि खाने गरिन्थ्यो।
यो वनस्पतिको पातको आकृति ठाउँअनुसार फरक हुन्छ। यसको पहिचानमा अलमलिएका वनस्पतिविज्ञले कैयन जातिका भिन्दाभिन्दै प्रजाति भनेर तीन दर्जन नामाकरण गरेका छन्। यो जानकारी रोयल बोटानिकल गार्डेन्स किउ–साइन्सले जारी गरेको प्लान्टस् अफ् द वल्र्ड को अनलाइन संस्करणमा उपलब्ध छ।
पछिल्लो पटक सन् २००२ मा युक्रेनी र अमेरिकी वनस्पतिविदद्वयले यो वनस्पतिलाई डिस्फानिया एम्ब्रोजिओइड्स नाम दिएका हुन्। यद्यपि यो वनस्पति कुन परिवार अन्तर्गत पर्छ भन्नेमा अझैं दुबिधा छ। डिस्फानिया र चिनोपोडियम फूल फुल्ने वनस्पतिको वर्गीकरण प्रणाली ‘एन्जिओस्पम्र्स् फाइलोजेनी ग्रुप’ (एपिजी) अनुसार ‘एमारेन्थेसी’ परिवारका हुन्। एमारेन्थेसी लुँडे सागको परिवार हो। तर एपिजी प्रणाली अङ्गिकार नगर्नेले ती दुवैलाई ‘चेनोपोडिएसी’ परिवारमा राख्छन्। एपिजी सिस्टममा चेनोपोडिएसीलाई एमारेन्थेसी परिवारमा समाहित गरिएको छ।
रुसको मस्को स्टेट युनिभर्सिटीका चेनोपोडिएसीविज्ञ अलेक्साण्डर पी सुखोरुकोभ यो वनस्पतिको खोज–अनुसन्धान गर्न १५ पटक नेपाल आएका रहेछन्। उनले डिस्फानिया एम्ब्रोजिओइड्सको नमूना सन् २०१३, २०१० र २००५ मा क्रमशः राराताल, तातोपानी (म्याग्दी) र गोदावरी (ललितपुर) क्षेत्रबाट सङ्कलन गरेको जानकारी फाइटोट्याक्सा जर्नलको भोल्युम– १९१, अङ्क १ (सन् २०१४)मा प्रकाशित ‘ट्याक्सोनोमिक रिभिजन अफ चेनोपोडिएसी इन नेपाल’ शीर्षकको लेखबाट थाहा हुन्छ।
यो वनस्पतिको नमूना सुखोरुकोभबाहेक अरूले बझाङ, पाल्पा, ललितपुर (फुलचोकी), स्याङ्जा (आँधीखोला), गोरखा (गोरखकाली), धनकुटा, सुनसरी (धरान), सङ्खुवासभा (हटिया) र भोजपुरबाट पनि सङ्कलन गरिएको छ।
यो वनस्पतिलाई ‘मेक्सिकन टी’ पनि भनिन्छ। यो प्रजाति मूलतः मध्य तथा दक्षिण अमेरिकामा उत्पत्ति भएको वनस्पति हो। तर हिजोआज यो मिचाहा प्रजातिका रूपमा संसारभर फैलिएको छ। यसका अन्य प्रजाति पनि उस्तै देखिन्छन्।
सुखोरुकोभ र अरूहरूको २०१९ मा फाइटोकिज जर्नलको भोल्युम– ११६ मा प्रकाशित ‘ट्याक्सोनोमिक रिभिजन अफ चेनोपोडिएसी इन् हिमालय एण्ड टिबेट’ लेख अनुसार, नेपालमा यो जातिका ६ प्रजाति पाइएका छन्।
ती ६ मध्ये ‘डिस्फानिया नेग्लेक्टा’ र ‘डिस्फानिया भुटानिका’ (सुखोरुकोभले नेपाल र भुटानबाट क्रमशः सन् २०१४ र २०१२ मा पत्ता लगाएका थिए। यसअघि नेपालमै सन् १८३६ मा ‘डिस्फानिया नेपालेन्सिस्’ पत्ता लागेको थियो। त्यसबेला यसको नामकरण ‘चिनोपोडियम नेपालेन्सिस्’ गरिएको थियो।
एन्टिबडीको प्रभाव र असर
हरेक व्यक्तिको शरीरमा बाहिरबाट प्रवेश गरेका ब्याक्टेरिया, भाइरस वा अन्य जिवाणु नष्ट गर्ने ‘इनेट इम्युनिटी’ भन्ने प्रतिरोधात्मक शक्ति वा क्षमता हुन्छ । यसले प्रवेश भएका सबै भाइरस वा ब्याक्टेरिया मार्ने प्रयत्न गर्छ तर निर्मूल गर्न सक्दैन र निश्चित अवधिपछि शरीरभित्र अर्को प्रतिरोधात्मक क्षमता ‘एडप्टिभ इम्युनिटी’ लाई सक्रिय पारिदिन्छ।
एडप्टिभ इम्युनिटीले भाइरस मार्न प्रतिरोधात्मक वस्तु ‘एन्टिबडी’ बनाउन शुरू गर्छ। एन्टिबडी शरीरमा प्रवेश गरेका भाइरस वा ब्याक्टेरियालाई नष्ट गरिदिने एक किसिमको प्रोटिन हो। ब्याक्टेरिया वा भाइरस निर्मूल गरिसकेपछि यो शरीरमै कम्प्युटरको मेमोरीजस्तो भएर कतै सुरक्षित रूपमा रहन्छ र भविष्यमा त्यही प्रकृतिको ब्याक्टेरिया वा भाइरस शरीरमा प्रवेश भए तुरुन्तै पहिचान गरी नष्ट गरिदिन्छ।
वैज्ञानिकहरूले मानिसको यही प्रतिरोधात्मक क्षमतालाई ध्यानमा राखेर खोपको विकास गर्छन् । यसका निम्ति सर्वप्रथम भाइरस वा ब्याक्टेरियाको रोग फैलाउने क्षमता निर्मूल पारिन्छ। कैयन् परीक्षणपछि ती भाइरस वा ब्याक्टेरिया नै सम्बन्धित रोगका निम्ति औषधिजस्तो बनिदिन्छन्। शरीरमा फैलन नसक्ने अवस्थाका ती जीव वा तिनका केही अंशलाई स्वस्थ मानिसमा प्रवेश गराइन्छ।
कहिलेकाहिँ खोप लगाइसकेका व्यक्तिमा पनि कोभिडको लक्षण देखा पर्नसक्छ। कोभिड–१९ को भाइरस मार्ने एन्टिबडीले नयाँ स्वरूपको भाइरसलाई समयमै चिन्न नसकेर झुक्किएकोले त्यस्तो भएको हो। त्यस्तो अवस्थामा एन्टिबडी भाइरस मार्नुपर्ने हो वा होइन भन्ने दुबिधाकै अवस्थामा जस्तो रहन्छ।
कोभिड–१९ को खोप पनि यसैगरी बनेको हो। शारीरिक रूपमा अत्यन्तै दुर्बल भाइरस वा त्यसको केही भागबाट बनाइने खोपबाट जब भाइरस शरीरभित्र प्रवेश गराइन्छ, इनेट इम्युनिटीले त्यसलाई नियन्त्रण गर्न कोशिश गर्छ, तर पूर्ण रूपमा सफल हुँदैन। त्यसपछि एडप्टिभ इम्युनिटी सिस्टम चालु हुन्छ र त्यसले एन्टिबडी तयार गर्न थाल्छ। एन्टिबडीले भाइरसलाई खोजी–खोजी मार्न शुरू गर्छ।
कोभिड–१९ का खोप प्रायः दुई डोजका छन् । पहिलो डोजमा शरीरभित्र प्रवेश गराइएका भाइरसलाई इनेट इम्युनिटी र एडप्टिभ इम्युनिटीले निर्मूल पारिदिन्छ र त्यसपछि एडप्टिभ इम्युनिटीले बनाएको एन्टिबडी शरीरमा मेमोरीका रूपमा थन्किएर बस्छ। कोरोना भाइरस चिनिसकेका ती एन्टिबडीले दोस्रो डोजमा प्रवेश गराइने भाइरसलाई पनि सजिलै नियन्त्रण गर्छन् र अझ तिब्रताका साथ मारिदिन्छन्।
एकै प्रजातिको भाइरस विभिन्न किसिमको हावापानीमा रहँदा र करोडौँ मानिसमा प्रवेश गरेर आँफैं अति छोटो समयमा लाखौँ–करोडौँको सङ्ख्यामा विस्तार हुँदा यसमा निश्चय नै केही फेरबदल हुन्छ। यस क्रममा कुनै भाइरस थोरै फरक पनि निस्कन सक्छन्। त्यो भनेको प्रतिलिपी निकाल्दा कुनै कागज केही बिग्रेको जस्तै हो। चिज त्यही, स्वरूप अलि फरक।
कहिलेकाहिँ खोप लगाइसकेका व्यक्तिमा पनि कोभिडको लक्षण देखा पर्नसक्छ। कोभिड–१९ को भाइरस मार्ने एन्टिबडीले नयाँ स्वरूपको भाइरसलाई समयमै चिन्न नसकेर झुक्किएकोले त्यस्तो भएको हो। त्यस्तो अवस्थामा एन्टिबडी भाइरस मार्नुपर्ने हो वा होइन भन्ने दुबिधाकै अवस्थामा जस्तो रहन्छ। एन्टिबडीले सङक्रमित व्यक्ति गम्भीर अवस्थामा पुग्नुअगावै भाइरसको पूर्ण पहिचान गर्नसक्यो भने बिरामी बाँच्नसक्छ, तर ज्यादै ढिलो गरी पहिचान गर्याे र त्यसबेलासम्म शरीरका विभिन्न भाग काम नलाग्ने अवस्थामा पुगिसकेमा भने बाँच्ने सम्भावना कम हुन्छ।
मृत्युको कारक ‘साइटोकिन्स स्टोर्म’
भाइरोलोजी विज्ञानमा विद्यावारिधि डा. कुलराज राई हिजोआज कोभिड–१९ का धेरैजसो बिरामीको मृत्यु ‘साइटोकिन्स स्टोर्म’कै कारण भइरहेको बताउँछन्। हाल चीनको फुजिआन एग्रीकल्चर एण्ड फरेस्टञी विश्वविद्यालयको कलेज अफ एनिमल साइन्सेसमा कार्यरत् डा. राईका अनुसार, कोरोनाको रिपोर्ट नेगेटिभ देखिए पनि ‘साइटोकिन्स स्टोर्म’ले शरीरका धेरैजसो अङ्ग विफल बनाइसक्ने हुँनाले विरामीको निधन हुन्छ।
‘साइटोकिन’ भाइरस प्रवेशपछि शरीरले के गर्नुपर्छ भन्ने सूचना लैजाने एक किसिमको एन्टिबडी अर्थात् ग्लाइकोप्रोटिन हो । शरीरका विभिन्न भागले यसलाई सन्तुलित रूपमा उत्पादन गरे प्रतिरोधात्मक क्षमता तन्दुरुस्त हुन्छ। तर बढी उत्पादन हुनगयो भने उल्टै हानी गर्छ। साइटोकिन अनियन्त्रित रूपमा बढी उत्पादन हुनुलाई चिकित्सकीय भाषामा एक किसिमको आँधी अर्थात् साइटोकिन्स स्टोर्म भनिन्छ।
कोभिड–१९ का बिरामीको शरीरभित्र अनियन्त्रित रूपमा बन्ने साइटोकिनलाई ‘आईएल सिक्स’ नाम दिइएको छ। यस्तोबेला एण्टीबडीले गलत काम गर्न शुरू गर्छ। र, कोभिडका बिरामीको फोक्सोबाहेक मुटु, मृगौला आदिमा पनि आक्रमण गर्न थाल्छ।
औषधिय गुण भएको नरहरीबुटीले केही मात्रामा इनेट इम्युनिटी वा एडप्टिभ इम्युनिटी बढाउन मद्दत भने गर्नसक्छ। तर, कोभिड–१९ बाट निधन हुनेमा ‘साइटोकिन्स स्टोर्म’ कारक भएको तथ्य सामु हुँदाहुँदै बिरामीलाई नरहरीबुटी सेवन गरेर निको हुन्छ भन्नु बेकार हो।
महामारीका कारण चीनको वुहानमा १४ देखि ३० प्रतिशत बिरामीका मृगौला काम नलाग्ने भएको थियो। डा. राईको बुझाइमा कोभिड–१९ बाट अत्यन्त गम्भीर अवस्थामा पुगेका बिरामीलाई पनि आईएल सिक्स अध्ययन गरेर बचाउन सकिन्छ । यसलाई नियन्त्रण गर्न ‘मोनोक्लोनल एण्टीबडी’ प्रयोग हुने गरेको छ । चीनमा अधिकतम् रूपमा आईएल सिक्स नियन्त्रण गरेरै बिरामी बचाइएको थियो।
भाइरोलोजिष्ट डा.राईका अनुसार, साइटोकिन्स स्टोर्मकै कारण फोक्सोमा भएको ‘एञ्जिओटेन्सिन–कन्भर्टिङ इन्जाइम टु’ रिसेप्टर्स समस्या उत्पन्न हुन्छ। यस्तोमा फोक्सो सुन्निन्छ र एन्टिबडीले फोक्सोका सेलहरू बिगारिदिन्छ।
विश्वमा अहिलेसम्म फैलिएका महामारीमध्ये सबैभन्दा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको महामारी ‘स्पेनिश फ्लु’बाट भएको थियो। सन् १९१८–१९ मा फैलिएको यो महामारीबाट त्यसबेला करिब पाँच करोड अर्थात् युरोपको आधा जनसङ्ख्या सखाप भएको थियो। त्यसबेला पनि साइटोकिन्स स्टोर्मकै कारण धेरैको निधन भएको तर यसको नाम र स्वभावबारे धेरै पछि मात्र पत्ता लागेको थियो।
बचाउँदैन 'नरहरीबुटी'ले
फेरि चर्चा गरौँ नरहरीबुटीको। डिस्फानिया एम्ब्रोजिओइड्स वैज्ञानिक नाम रहेको ‘नरहरीबुटी’ सेवनले कोभिड–१९ बाट बच्न सकिएला? उत्तर सहज छ, वैज्ञानिक खोज नभएसम्मका लागि– सकिदैंन।
औषधिय गुण भएको नरहरीबुटीले केही मात्रामा इनेट इम्युनिटी वा एडप्टिभ इम्युनिटी बढाउन मद्दत भने गर्नसक्छ। तर, कोभिड–१९ बाट निधन हुनेमा ‘साइटोकिन्स स्टोर्म’ कारक भएको तथ्य सामु हुँदाहुँदै बिरामीलाई नरहरीबुटी सेवन गरेर निको हुन्छ भन्नु बेकार हो। यो प्रधानमन्त्री ओलीले बेसार पानी, मरिच, अम्बाको पातले कोभिड–१९ बाट बच्न सकिन्छ भने जस्तै हो।